मुलुकभर वार्षिक १० लाख टन फोहर उत्पादन
काठमाडौँ । देशभरबाट वार्षिक करिब १० लाख टन फोहर उत्पादन हुने गरेको छ ।
त्यसमध्ये प्रति वर्ष तीन लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, दुई लाख ४५ हजार आठ सय ८४ टन व्यापारिक क्षेत्रबाट निष्कासन हुने सरकारी तथ्याङ्कले देखाएको छ ।
यसैगरी एक लाख तीन हजार दुई सय ४४ टन शैक्षिक संस्थाहरूबाट, ९४ हजार तीन सय ९२ टन औद्योगिक क्षेत्रबाट, एक लाख एक हजार पाँच सय सात टन स्वास्थ्य सेवा क्षेत्रबाट र ६६ हजार दुई सय २० टन अन्य क्षेत्रबाट निष्कासन हुने गरेको केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कमा उल्लेख छ ।

उत्पादित फोहर मैलामध्ये सबैभन्दा बढी वार्षिक तीन लाख ८९ हजार नौ सय ८३ टन ल्यान्डफिल साइटमा जम्मा हुने, तीन लाख १५ हजार ६९ टन नदी किनार तथा बगर जस्ता वातावरणीय क्षेत्रमा जाने र २२ हजार ७५ टन दहन गरिने गरिएको विभागले आज सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी फोहरमैलाको पुनः चक्रीय उपयोगमा जान सक्ने प्लाष्टिक, धातु, कागज तथा कागजजन्य वस्तु अत्यन्तै न्यून (आठ हजार ६ सय ९० टन) परिमाणमा पुनः चक्रीय रूपमा उपयोग हुने देखिएको विभागका निर्देशक सुशीलकुमार शर्माले जानकारी दिनुभयो ।
विभागको यस अध्ययनले नेपालका स्थानीय, प्रादेशिक तथा सङ्घीय तहमा समेत फोहर मैलासम्बन्धी तथ्याङ्कहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार नरहेको समेत देखाएको छ । तसर्थ, यस अध्ययनमा फोहरमैला उत्पादन एवं खपत क्षेत्र तथा फोहरमैलाको वर्गीकरण गरिएको छ ।

फोहरमैलाको वर्गीकरण, उत्पादन तथा खपत मात्रासम्बन्धी तथ्याङ्क अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन स्थानीय, प्रादेशिक तथा सङ्घीय तहका फोहरमैला व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण पेसाकर्मी तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको प्रतिवेदनको सुझाव छ । प्रतिवेदन केन्द्रीय तथ्याङ्क विभाग तथा राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा तयार पारिएको हो ।
फोहरमैलाको उचित व्यवस्थापन गर्न हाम्रो फोहरमैला कुन मात्रामा निष्कासन हुन्छ, यसमा कस्ता वस्तुहरू समावेश छन् र यी निष्कासित फोहर तथा त्यसमा रहेका वस्तुहरू कहाँ जान्छन् भन्ने कुराको विश्वसनीय तथ्याङ्क तथा सूचना आवश्यक पर्दछ । यसै परिप्रेक्ष्यमा केन्द्रीय तथ्याङ्क विभागले फोहरमैला व्यवस्थापनसम्बन्धी सर्वेक्षण २०७६ सञ्चालन गरेको थियो । सर्वेक्षणको मुख्य उद्देश्य फोहरमैला व्यवस्थापनसम्बन्धी आधारभूत तथ्याङ्क सङ्कलन गर्ने रहेको थियो जसमा फोहरमैलाको उत्पादन, सङ्कलन तथा व्यवस्थापनसम्बन्धी तथ्याङ्क सङ्कलन गरिएको थियो ।
यो प्रकाशनमा गाउँपालिकाबाहेक देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको फोहर मैलासम्बन्धी तथ्याङ्कहरू समावेश गर्दै देशको समग्र भौगोलिक क्षेत्रलाई समेटिएको छ ।
जनस्वास्थ्य सुरक्षा तथा जल, वायु एवम् भू प्रदूषणको रोकथाम लगायत महत्त्वपूर्ण प्राकृतिक स्रोतसाधनमा पर्ने अत्यधिक चाप कम गर्नसमेत फोहरमैलामा विद्यमान उपयोगयोग्य वस्तुको यथासम्भव पुनः प्राप्ति गरी पुनः प्रयोग वा चक्रीय उपयोग गरी फोहरमैलाको यथोचित व्यवस्थापन अपरिहार्य भइसकेको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्