आत्महत्या रोकथामका लागि सचेतना अभियान सुरु
विराटनगर । आत्महत्याका घटना बढ्न थालेपछि त्यसको रोकथाम, न्युनिकरण तथा सचेतनाका लागी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आजबाट अभियान सुरु गरेको छ ।
एक कार्यक्रम मार्फत् प्रदेश १ का १४ वटै जिल्लामा अभियानको शुभारम्भ भएको घोषणा गरिएको थियो । प्रदेश १ को आन्तरिक तथा कानुन मन्त्रालयको आयोजना तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको सहयोगमा अभियान सुरु भएको हो ।

अभियानको उद्घाटन गर्नुहुँदै प्रदेश न १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आत्महत्या रोकथाम न्युनिकरण अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले आत्महत्या न्युनिकरणका लागी सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्री जयराम यादवले आत्महत्या न्युनिकरण गर्न स्थानीय पालिकाको समन्वयमा विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक विकास मन्त्री राजन राईले आत्महत्या न्युनिकरणका विषय पाठ्यपुस्तकमा समावेश हुनुपर्ने उल्लेख गर्नुभयो ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक डिआइजी सुदिप गिरीले प्रदेश–१ का १४ वटै जिल्लामा एकैसाथ आत्महत्या रोकथाम सचेतना अभियान शुभारम्भ भएको र यो अभियान वर्षभरि सञ्चालन हुने बताउनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश १ का महान्यायधिवक्ता भोजराज श्रेष्ठ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले आत्महत्या न्युनिकरणका लागी सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रदेश १ मा गत आर्थिक वर्षमा १४ सय ८९ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये पुरुष ९ सय २२, महिला ४ सय ४३, बालक ६२ तथा बालिका ६२ रहेका छन् । प्रदेश १ मा एक दिनमा चार जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ ।
कार्यालयको तथ्याङ्क अनुसार गत पाँच वर्षमा प्रदेश १ मा ६ हजार ७ सय ३ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या ३ हजार ८ सय ९७, महिला २ हजार १ सय ५९, बालक ३ सय तथा बालिका ३ सय ४७ रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्