सर्वोच्चमा नेपाल बारको धर्ना

काठमाडौँ । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै मूल गेटमा धर्ना दिएको छ ।
आज बिहान बसेको नेपाल बारको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेपछि बिहान १०ः०० बजेदेखि साढे १ घण्टा धर्ना दिएको हो ।
निलम्बित प्रधानन्यायाधीश जबरा अदालत आउने सूचना पाएकाले सर्वोच्चको गेटमा धर्ना दिनु परेको नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
उहाँले निलम्बित अवस्थामा जबरा सर्वोच्च अदालत प्रवेश गर्ने विषय कल्पना नै गर्न नसकिने बताउनुभयो ।
निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च आउने भन्ने सूचना आएको भन्दै नेपाल बारको आजै आकस्मिक बैठक बसेको थियो । बारको आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमा शान्तिपूर्ण प्रदर्शन गर्ने र उहाँलाई भित्र छिर्न नदिने घोषणा गरेको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च आउने भन्ने बारे आफूलाई औपचारिक जानकारी नभएको बताउनुभयो ।
नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश जबरा प्रतिनिधिसभाले महाभियोगको टुङ्गो नलागेसम्म काममा फर्कन नमिल्ने बताउनुभयो ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुङ्गो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको काममा फर्कन नमिल्ने व्यवस्था संविधानको धारा १०१ को उपधारा ६ मा प्रष्ट उल्लेख गरिएको दाबी गर्नुभयो ।
सर्वोच्च अदालतको मुख्य गेट अगाडि नेपाल बारका पदाधिकारी र कानुन व्यवसायीले धर्ना दिएपछि अघिल्लो दिनको तुलनामा प्रहरीको तैनाथी बढाइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्