साफ च्याम्पियनसिप जित्ने अवसर नगुमाउने: प्रशिक्षक थापा
काठमाडौँ । नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताउनुभएको छ ।
प्रतियोगिताको फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा थापाले साफ महिला च्याम्पियनसिपले नयाँ विजेता बन्ने सुनौलो मौका गुमाउन दिने पक्षमा नरहेको बताउनुभयो ।
प्रतियोगिताको फाइनल खेल सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुँदैछ । नेपाल पहिलो पटक फाइनलमा नयाँ प्रतिद्वन्द्वी बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल अपराह्न ५ बजे हुनेछ ।
प्रशिक्षक थापाले घरेलु मैदानमा बङ्गलादेशलाई पराजित गर्दै आगामी दुई संस्करण च्याम्पियन बन्ने बताउँदै टिम तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले महिला साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशसँग खेल्न टिम तयार रहेको बताएकी छिन् ।
कप्तान एन्जिलाले बोलेर भन्दा पनि घरेलु दर्शकमाझ उपाधि जित्ने बताइन् । उनले जतिसक्दो कम गल्ती गर्दै उपाधि जित्नेमा विश्वास राखिन् ।
बंगलादेशविरुद्ध स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर मञ्जलीकुमारी योञ्जन समेत फर्कने सम्भावना छ ।
बङ्गलादेशका प्रशिक्षक गोलम रब्बानी छोटनले नेपाली टिम बलियो भए पनि आफ्नो टिमले उपाधि जित्नेमा विश्वस्त रहेको बताउनुभयो ।
यसअघि नेपालले साविक पाँच पटकको विजेता भारतलाई सेमिफाइनलमा १–० ले पराजित गर्दै फाइनल पुगेको थियो । भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपालले त्यसअघि समूह चरणमा भुटानलाई ४–० र श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्