तपाईँ सुन्दै हुनुहुन्छः

तालाबन्दीले समस्याको समाधान हुँदैन: शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताउनुभएको छ ।

पद्मकन्या क्याम्पसको ७२ औँ वार्षिकोत्सव समारोह २०७९ को अवसरमा आयोजित कार्यक्रममा उहाँले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने बताउनुभयो ।

file photo

दिनहुँ जसो विभिन्न विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा तालाबन्दी गरेको उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र)का सचिव समेत रहनुभएका पौडेलले भन्नुभयो, “नेपाली संस्कारअनुसार शिक्षण संस्था र मन्दिर पवित्र संस्था मानिन्छन् ।” तालाबन्दीले विश्वविद्यालयको विकास नहुने भन्दै उहाँले भन्नुभयो, “कृपया तालाबन्दी संस्कारको अन्त्य गरौँ । तालाबन्दीले विश्वविद्यालय बन्दैन ।” विश्वविद्यालयका पदाधिकारी, कर्मचारीहरूको समस्याको समाधान वार्ता, छलफल र संवादद्वारा हल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री पौडेलले महिलाहरूको मूलतः अध्ययन, अध्यापन गराउने छुट्टै विश्वविद्यालयको रुपमा अघि बढाउन राखेको पद्मकन्या क्याम्पसको प्रस्ताव आफूले पनि अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । “चीनमा पाँच लाख जनता बराबर एउटा विश्वविद्यालय छ, भारतमा १४ लाख जनता बराबर एउटा विश्वविद्यालय छ ।” उहाँले भन्नुभयो, “नेपालमा झण्डै २० लाख बराबर एउटा विश्वविद्यालय छ र पनि कतिपयले नेपालमा विश्वविद्यालय धेरै भए कि भनेर आलोचना पनि गर्छन् ।” उहाँले विश्वविद्यालय बढी नभएको समेत स्पष्ट पार्नुभयो ।

विश्वविद्यालयहरू विशिष्टीकृत गरिने उहाँको भनाइ थियो । सम्बन्धित निकायले उठाएका विषय समेटेर लामो छलफलपछि भर्खरै सदनबाट दुईवटा विश्वविद्यालयको ऐन पास गरेको उहाँले सुनाउनुभयो ।

सङ्घीय शिक्षा ऐन मन्त्रिपरिषद्मा पुगेको र त्यसका लागि शिक्षा मन्त्रालयले मात्र नहुने भन्दै उहाँले कानुन र अर्थ मन्त्रालयको पनि सहयोग चाहिने बताउनुभयो । लामो समयदेखि प्राध्यापन गर्दै आउनुभएका विशिष्ट व्यक्तित्वहरूलाई विश्वविद्यालयबाट सम्मान गर्ने र सम्पूर्ण विश्वविद्यालयमा क्षमता र योग्यताको आधारमा प्रतिस्पर्धाबाट आउने प्रणाली अपनाएको समेत उहाँले स्पष्ट पार्नुभयो ।

वार्षिकोत्सव समारोहमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री देवेन्द्र श्रेष्ठ, त्रिवि निमित्त शिक्षाध्यक्ष प्रा डा भार्गव धिताल, त्रिवि व्यवस्थापन सङ्काय डिन प्रा डा डिल्लीराज शर्मा, त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा डा कुसुम शाक्य, पद्मकन्या क्याम्पसका निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक राजु मल्ल लगायतले शुभकामना दिनुभयो ।

त्यस अवसरमा मन्त्री पौडेलले पद्मकन्या बुलेटिन, संस्कृति विभागले तयार पारेको भ्वाइस अफ कल्चर, जर्नल र अङ्ग्रेजी विभागले तयार पारेको माइण्डस स्केप्ट जर्नल पुस्तकहरूको लोकार्पण समेत गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली र दीपा दाहालले गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button