तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चलमा जितिया सुरु

जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेसका महिलाहरूले मनाउने कठोर व्रत जितिया सुरु भएको छ ।

व्रतीहरूले आज बिहान ओठगन गरेर जितियाको उपवास सुरु गर्नुभएको छ । आज बिहानदेखि भोलि साँझसम्म जल पनि सेवन नगरेर मनाइने यस वर्षमा व्रतीले खरका तिनका पनि भाँच्न नहुने मान्यता रहेको छ ।

सन्तानको दीर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामना गर्दै पर्वमा भगवान् विष्णुको रुपमा रहनुभएका जिमुतवाहनको पूजा गर्ने चलन रहेको छ । तीन दिनसम्म मनाइने यस वर्ष अन्तर्गत व्रतीहरूले हिजो नदी तथा तलाउमा स्नान गरेर जीमुतवाहनलाई बाँस वा घिरौँलाको पातमा खरी तेल, फलफूलहरू चढाएर मनग्य भोजन गर्ने चलन रहेको छ ।

यस दिन माछा तथा कोदोको रोटी अनिवार्य रुपमा सेवन गर्ने चलन रहेको छ । आज बिहान ३ बजेदेखि ४ बजेसम्ममा ओठगन गर्ने चलन रहेको छ । यसमा च्युरा दही, फलफूल सहितका परिकारहरू खाएर बिहान उज्यालो भएदेखि भोलि साँझसम्म उपवास गर्ने चलन रहेको छ ।

करिब ३६ घण्टाको उपवासको क्रममा थुक पनि निल्न नहुने धार्मिक मान्यता तथा चलन रहेको छ । यो पर्व गर्ने महिलाको सन्तानलाई अप्ठ्यारो परेको बेलामा पनि जीमुतवाहनले रक्षा गर्ने मान्यता रहेको छ । खरका तिनका पनि भाँचेको खण्डमा जितिया पर्व भङ्ग हुने डरले व्रतीहरू निक्कै सतर्क रहेर पूजा आराधना गर्ने गर्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button