तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमै पुगेर अपाङ्गता भएकालाई परिचयपत्र प्रदान

अर्घाखाँची । शितगङ्गा नगरपालिकाले पालिकाको केन्द्रबाट लामो दूरीमा रहेका गाउँमै पुगेर अपाङ्ग परिचयपत्र वितरण सुरु गरेको छ ।
पालिकाको केन्द्र रहेको ठाडामा आउन पूरै एक दिन लाग्ने वडा नम्बर ९ को लौरी तथा आसपासमा रहेका गाउँमै पुगेर परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र खनालले बताउनुभयो ।

घरमै पुगेर परिचयपत्र दिएपछि स्थानीयवासी पनि खुसी भएका छन् । विगत लामो समयदेखि वितरण नगरिएको अपाङ्ग परिचयपत्र नगरपालिकाले वितरण सुरु गरेको हो । सरकारले ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएकाले त्यसका लागि अपाङ्ग परिचयपत्र अनिवार्य आवश्यक छ ।

नगरपालिकाले हरेक महिना परिचयपत्र वितरण गर्ने गरेको भए पनि हाल धेरै समयदेखि भने वितरण हुन सकेको थिएन । नगरपालिकामा केही दिनअघि सञ्चालन गरिएको शिविरमा विभिन्न वडाका एक सयभन्दा बढी निवेदनका आधारमा प्राथमिक स्वास्थ्य केन्द्रका डा अजय चौधरी, अपाङ्ग परिचयपत्र वितरण समितिका संयोजक गीता भाट, नगर प्रमुख छविलाल पौडेल, प्रमुख प्रशासकीय अधिकृत खनाल, महिला शाखा प्रतिनिधि नरमाया सुवेदी लगायत उपस्थितिमा एक जनालाई (क) वर्ग १९ जना (ख) वर्ग २९ जना (ग) वर्ग र १५ जनालाई (घ) वर्गको परिचय वितरण गरिएको छ ।

अब हरेक महिनाको १५ गते परिचयपत्र वितरण हुने प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिनुभयो । भौगोलिक रूपमा टाढा र आउन समस्या भएका वडा नम्बर ९ र १४ का विभिन्न गाउँमै पुगेर परिचयपत्र वितरण गरिएको नगर उपप्रमुख भाटले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button