मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार गम्भीर: मन्त्री महतो
जनकपुरधाम । मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

मन्त्री महतोले इन्सेकको प्रदेश समितिले आज जनकपुरधाममा आयोजना गरेको “मानव अधिकार रक्षकहरूको संरक्षण तथा संवर्द्धनका लागि प्रदेश सांसद र मानव अधिकार रक्षकहरू बीचको छलफल” मा मानव अधिकारका कतिपय सवालहरूको सम्बोधन गर्न संघ तथा प्रदेश सरकार चुकिरहेको स्वीकार गर्नुभयो ।
उहाँले प्रदेश सरकारसँग प्रहरी भएको खण्डमा मानव अधिकारको संरक्षण गर्न मद्दत पुग्ने बताउनुभयो ।
मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्री सुरेश मण्डलले मानव अधिकार रक्षकहरू मानव अधिकारको जोखिममा परेकाहरूको पक्षमा रहने भएकाले कहिलेकाहीँ पीडकबाट जोखिममा पर्ने भएकाले मानवअधिकार रक्षकहरूको सवालमा कानून बन्न आवश्यक भएको बताउनुभयो ।
इन्सेकका मधेश प्रदेशका प्रमुख राजु पासवानले मानव अधिकारको पक्षमा कामकाज गर्दा मानव अधिकारकर्मीहरू नै मानसिक तथा शारीरिक हिंसामा पर्ने गरेकाले मानव अधिकार रक्षकहरूको विषयमा संघ तथा प्रदेश सरकारबाट कानूनको निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश कार्यालयका प्रमुख वीर बहादुर बुढामगरले मानव अधिकार रक्षकहरू जहिले पनि जोखिममा हुने भएकाले उनीहरूको हितको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्