साल्मे सिस्नेरी पहिरोले दियो हैरानी

सोलुखुम्बु । ओखलढुङ्गा–सल्लेरी सडक अन्तर्गत सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ को तिङ्लास्थित साल्मे–सिस्नेरी सडक खण्डमा पर्ने सिस्नेरी पहिरोले हैरानी दिएपछि यात्रा कष्टकर बनेको छ । लगातारको वर्षासँगै दैनिकजसो जाने पहिरोले दैनिक यातायातका साधन सञ्चालनमा समस्या भएको हो ।
वर्षायाममा वषौँदेखि दुःख दिइरहेको उक्त पहिरो पछिल्लो समय परेको लगातारको पानीले झनै झर्न थालेपछि यातायातका साधन अवरुद्ध हुने गरेका छन् भने खुलेको समयमा पनि माथिबाट पहिरोको जोखिम रहेको चालकहरू बताउँछन् ।

पानी पर्नासाथ माथिबाट झर्ने पहिरोको कारण घण्टौँ सडक अवरुद्ध भइरहने सो सडकमा बिहीबार दिउँसोदेखि शुक्रबार बिहारसम्म १६ घण्टा भन्दा बढी समय सवारी सञ्चालन ठप्प बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णकुमार कटवालले जानकारी दिनुभयो । माथिल्लो भागबाट खसेको ढुङ्गा र लेदो सहितको ठूलो पहिरो सडकमा थुप्रिएको र तल्लो भागबाट पनि पहिरो गएकाले खुलाउन निकै समय लागेको उहाँले बताउनुभयो ।
पानी पर्नासाथ सडक मार्ग बन्द भएपछि जिल्ला सदरमुकाम भित्रिने तथा बाहिरिने सवारी साधनहरू अलपत्र पर्ने गरेका छन् । जिल्लाबाट काठमाडौँ, विराटनगर तथा छिमेकी जिल्लाहरूका लागि छुटेका र सदरमुकाम आउँदै गरेका मालवाहक तथा यात्रुवाहक सवारी साधनहरू दैनिक घण्टौँ रोकिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला आउने एक मात्र सडकमार्ग भएकाले यहाँ स्वदेशी नागरिकका साथै सगरमाथा क्षेत्र आउने विदेशी पर्यटक पनि आउने गरेको बताइन्छ । बारम्बार पहिरो खस्ने र अवरुद्ध हुने भएकाले सडक यात्रा कष्टकर बन्दै गएको छ ।
ठुला ढुङ्गा तथा लेदो सहितको पहिरो दिनहुजसो खसिरहने समस्याले पैदल यात्रीलाई समेत सकस हुने गरेको स्थानीय यात्रु बताउँछन् । लगातारको पहिरोले सडकको मर्मत सम्भार तथा स्तरोउन्ती गर्ने जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय हर्कपुर समेत यो कार्यबाट दिक्क भएको एक कर्मचारीले बताउनुभयो ।
यस क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रोपावरले पहिरो पन्छाउन स्काभेटर तथा अन्य जनशक्ति समेत सहयोग गर्दै आएको छ । जिल्ला भित्रिने एक मात्र सडक मार्ग बारम्बार अवरुद्ध भइरहँदा एकातिर यात्रा जोखिमपूर्ण बनिरहेको छ भने अर्कातिर समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था छैन ।









प्रतिक्रिया राख्नुहोस्