पर्वतमा दूध उत्पादन बढ्यो
पर्वत । व्यावसायिक रूपमा गाईभैंसी पाल्ने कृषक बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लामा पछिल्लो दशकमा व्यावसायिक पशुपालनमा लाग्ने किसान उल्लेख्य सङ्ख्यामा बढेका छन् । लामो समय वैदेशिक रोजगारीमा गएर फर्किएका युवाहरू व्यावसायिक पशुपालनमा लागेका छन् ।
ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सर्वसुलभता, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँस परालको उपलब्धता लगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको हो । त्यही कारण व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढिरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कुश्माका अनुसार हाल दैनिक २५ सय लिटर हाराहारी दूध बाहिरका जिल्लामा निर्यात हुँदै आएको छ ।
पर्वतमा अनुसार पश्चिम बागलुङको केही दूध कुश्मामा विक्री हुँदै आएको छ । हाल कुश्मा बजारमा दूधको मूल्य थोकमा रु. ७० देखि ८० तथा खुद्रा रु. ९० देखि १२० मा विक्री हुँदै आएको छ । दुधालु गाईभैंसीले एकै बेतमा करिब रु. एक लाख मूल्य बराबरको दूध दिने भएपछि अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका युवाको पशुपालनमा आकर्षण छ ।
विज्ञ केन्द्रका अनुसार गुणस्तरीय दूधको माग पर्वतलगायत छिमेकी जिल्लामा बढ्दो छ । पछिल्लो तथ्याङ्क अनुसार कुश्मासहित जिल्लाका मुख्य बजारमा दूधको माग दैनिक ४५ सयदेखि पाँच हजार लिटरसम्म छ । त्यसबाहेक पनि दैनिक १७ सय लिटर जिल्लाबाहिर विक्री हुनुले जिल्लाको अर्थतन्त्रमा पशुपालनले अधिक योगदान गरेको केन्द्र प्रमुख पौडेलको दाबी छ । पछिल्लो समय दाना, चोकर र पराललगायत पशुपालनका लागि आवश्यक सामग्रीमा ठूला व्यवसायीको एकाधिकार, दूधको मूल्यमा सिन्डिकेटलगायतले अझै अपेक्षित मूल्य पाउन नसकेको किसानको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्