भूकम्प गएको आठ वर्षसम्म पनि टहरामै पढाई
दोलखा । विनाशकारी भूकम्प गएको आठ बर्ष बितिसक्दा समेत दोलखाको जिरी माविको भवन बन्न नसक्दा विद्यार्थीहरू टहरामै कष्टका साथ पढ्न बाध्य भएका छन् ।

दोलखाको जिरी नगरपालिकामा रहेको जिरी माविका १५ भन्दा बढी पक्की बिल्डिङहरू भूकम्पका कारण असुरक्षित भएपछि त्यसलाई भत्काएर अस्थायी रुपमा विद्यालयकै खेल मैदानमा २० वटा टहरा निर्माण गरेर पढाई सुचारु गरिएको छ । भूकम्प जानुअघि नै चिन सरकारले झण्डै एक अर्ब लगानीमा सुविधा सम्पन्न विद्यालय भवनहरू निर्माण गरिदिने सहमति बनेकोमा अहिलेसम्म नयाँ भवन नबनाइएको विद्यालयका प्रधानाध्यापक कुमार जिरेल बताउनुहुन्छ ।
नेपाल सरकार अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पहलमा चिन सरकारले सुविधा सम्पन्न भवन निर्माणको लागि सन् २०१९ सेप्टेम्बर १ बाट काम सुरु गर्ने सम्झौता भएको तर अहिलेसम्म पनि काम अघि नबढ्दा विद्यार्थीहरू खेल मैदानमा रहेको टहरामै बसेर पढ्न बाध्य भएको प्रधानाध्यापक जिरेल बताउनुहुन्छ ।

खेल मैदानमा रहेको टहरामा बसेर पढ्दा घाम लाग्दा पनि समस्या हुने र पानी पर्दा पनि समस्या हुने गरेको विद्यालयमा कक्षा चार मा अध्ययनरत छात्रा प्रिया जिरेलको गुनासो छ ।
विद्यालय भवन निर्माण समयमै सम्पन्न नहुँदा प्रविधि अनुसारको शिक्षा दिन नसकिएको, कक्षा कोठाको समस्या रहेको, शिक्षण सिकाई सामग्रीको उपयोगमा समस्या रहेको र विद्यार्थीहरूलाई अध्ययनमा कठिनाइ तथा जोखिम र स्वास्थ्यमा समेत समस्या रहेको प्रधानाध्यापक कुमार जिरेल बताउनुहुन्छ ।
जिरी माविमा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर कोठा, अफिस कोठा, शिक्षक तथा विद्यार्थी आवास गृह, चमेना गृह, खेल मैदान सहितको झण्डै एक अर्ब लगानीमा विद्यालयका संरचना निर्माण गर्न सन् २०१५ मै चीन सरकारसँग सहमति बनेको विद्यालयले जनाएको छ । सहमतिपछि सन् २०१६ मा स्थलगत निरीक्षण र सम्भाव्यता अध्ययन भई सन् २०१८ मा सहमति आदान प्रदान समेत भएको थियो । सोही आधारमा सन् २०१९ सेप्टेम्बर १ बाट काम सुरु गर्ने भनिए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले काम अघि नबढाएको प्रधानाध्यापक जिरेलले बताउनुभयो ।

चीन सरकारले तत्कालै काम सुरु गर्ने भनेपछि भूकम्पले सामान्य क्षति भएको भवनहरू समेत भत्काएर छ हजार छ सय २८ वर्गमीटर जमिन खालि गरिदिएको तर काम समयमै नहुँदा समस्या थपिएको जिरेल बताउनुहुन्छ ।
अब २०२२ सेप्टेम्बर अन्तबाट काम सुरु गर्ने भनेका छन्, त्यतिबेला सम्म पनि काम सुरु भएन भने विद्यालयकै पहलमा अर्को विकल्प खोज्नुपर्छ – प्रधानाध्यापक जिरेलले भन्नुभयो ।
२०१७ सालमा जिरी राष्ट्रिय प्राइमरी स्कुलको रुपमा स्थापना भएको जिरी माविमा २०२५ सालबाट मावि सुरु भएको थियो भने २०५१ सालमा उच्च मावि सुरु भएको थियो । विद्यालयमा १२ कक्षाको समेत गरेर हाल छ सय ६५ जना विद्यार्थी रहेका छन् । त्यसमा एक सय १३ विद्यार्थी प्रावि तहको रहेको विद्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्