तपाईँ सुन्दै हुनुहुन्छः

प्रमाण राखेर मात्रै पैसा दिन श्रमिकलाई मन्त्री कुँवरको आग्रह 

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आज वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो  सुन्नुभएको छ  । 

आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तर्गत उहाँले नौ जना श्रमिकका गुनासो सुन्नुभएको हो।

कार्यक्रममा श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको,  साउदीमा म्यानपावरले भने जस्तो काम नपाए समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासोहरू राखेका थिए । पछिल्लो समय धेरेले विदेश जाँदा ठगिएको गुनासोहरू राख्ने गरेका छन् ।

मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजीकरण गर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई अप्ठ्यारो भइरहेको समेत बताउनुभयो ।

मन्त्री कुवरले म्यानपावरले श्रमिकबाट विदेश पठाउँछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कार्यवाही गर्न समस्या भएको भन्नुहुँदै श्रमिकलाई म्यानवरले पैसा मागेपछि प्रमाण राखेर मात्रै पैसा दिन आग्रह गर्नुभयो ।

मन्त्री कुँवरले अहिलेसम्म तीन हप्ता श्रमिकका गुनासो सुन्नुभएको छ । अहिलेसम्म २९ जना श्रमिकले नेपाल र विदेशबाट प्रत्यक्ष मन्त्रीसँग आफ्ना गुनासाहरू राखेका छन् । 

श्रमिकका गुनासोलाई मन्त्री कुँवरले तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने गुनासोहरू वैदेशिक रोजगार विभाग र बोर्डमा समाधानका लागि पहल गर्न अनुरोध गर्नुभएको छ ।

श्रमिकसँग श्रम मन्त्री कार्यक्रम हरेक हप्ताको आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button