तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादी भक्तपुरका अध्यक्षको घरमा हतियारधारी समूहद्वारा तोडफोड

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतको गठ्ठाघरस्थित घरमा अज्ञात हतियारधारी समूह प्रवेश गरी ढोका फोड्नुका साथै परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिएको छ । सो समूहले आज बिहान ३ बजेतिर घरमा प्रवेश गरी बस्नेतका एक छोरालाई अपहरण प्रयास समेत गरेको बस्नेतका परिवारले जनाएको छ । 

अध्यक्ष बस्नेत कामको सिलसिलामा पोखरामा थिए । परिवारलाई सो समूहले ज्यान मार्ने धम्की दिएको छ ।

बस्नेतकी श्रीमती उषा कार्कीका अनुसार घरमा भाडामा बस्ने पहिलो र दोस्रो तलाका सबै ढोका बन्द गरेर उक्त समूह तेस्रो तलामा पुगेको थियो । 

त्यसपछि ढोका फोडेर भित्र प्रवेश गरेको समूहले जेठा छोरालाई पेस्तोल देखाएर अपहरण प्रयास गरेको उषाले बताउनुभयो । उषाका अनुसार ५ जनाको समूहमा आएकामध्ये २ जनाले मास्क लगाएका थिएनन् ।

भक्तपुर प्रहरी परिसरका उपरीक्षक (एसपी) प्रजित केसीले घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभयो ।

घटनापछि पार्टीको जिल्ला कमिटीले  प्रेस विज्ञप्ति जारी गरी पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल अनुसन्धान गरी अपराधीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

कमिटी उपाध्यक्ष प्रेमानन्द लाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार बिहान ३ बजेको समयमा सशस्त्र हतियार सहितको जत्था घरको मुख्य ढोका र च्यानल गेट समेत फोडी ज्यान मार्ने उद्देश्यले घरभित्र प्रवेश गरेको छ ।

घरमा अध्यक्ष बस्नेत नभेटिएपछि श्रीमती र छोरालाई आक्रमण गरेको तथा घरमा बस्ने अन्य मानिसले थाहा पाई सहयोग गर्न जाँदा उनीहरुलाई समेत आक्रमण गरेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button