राष्ट्रिय पुँजीलाई औद्योगिकीकरण गर्नुपर्छ: अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट विचारका साथै समाजवादी आदर्शको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गर्नुभएको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले देशमा विद्यमान गरिबी न्यूनीकरण गर्न राष्ट्रिय पुँजीलाई औद्योगीकरण गरी न्यायोचित वितरण गर्ने वैज्ञानिक चिन्तन मार्क्सवादी चिन्तन भएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकलाई राजनीतिक अधिकारका साथै सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आन्दोलनको खाँचो औँल्याउँदै कम्युनिष्ट आन्दोलनमा अवसरवादी चरित्र विकास भएकाले आफूहरूले कम्युनिष्ट सिद्धान्तको रक्षाका लागि विद्रोह गरेको स्पष्ट पार्नुभयो । पार्टी स्थापनाको छोटो समयमा पनि देशभर पार्टीप्रति जनताको आकर्षण बढेकाले विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता आफ्नो दलमा प्रवेश गर्ने लहर चलेको उहाँले बताउनुभयो ।
जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य रणबहादुर रम्तेल नेतृत्वमा ५७ जना नेता तथा कार्यकर्ता उक्त पार्टीमा प्रवेश गर्नुभएको छ । कार्यक्रममा नेता रम्तेलले आफ्नो विवेक र क्षमताले भ्याएसम्म नेपालको कम्युनिष्ट आन्दोलन र वर्ग सङ्घर्षको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्