साफ महिला च्याम्पियनसिप: नेपाल समूह ‘बी’ मा
काठमाडौँ । तेस्रो पटक नेपालले घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप आयोजना गर्ने मौका पाएको छ । आगामी मङ्गलवारदेखि काठमाडौँको दशरथ रङ्गशालामा हुने प्रतियोगिताका लागि नेपाल समूह ‘बी’मा परेको छ ।
सन् २०१० देखि सुरु भएको प्रतियोगिताले पाँचौँ संस्करण पूरा गरिसकेको छ । यसअघिका पाँचमध्ये चार प्रतियोगितामा नेपालले फाइनल यात्रा तय गरेर पनि सधैँ भारतसँग पराजित हुँदा उपाधि जित्न सकेको छैन ।
सन् २०१६ मा भारतको सिलगुडीमा भएको चौथो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै फाइनल पुग्नबाटै वञ्चित भएको थियो । पछिल्लो पटक सन् २०१९ मा विराटनगरमा सम्पन्न पाँचौँ संस्करणमा पनि नेपाल फाइनलसम्म पुगेर भारतसँगै हारेको थियो । समग्रमा अहिलेसम्मको नतिजा हेर्ने हो भने नेपालको प्रमुख प्रतिद्वन्द्वी भारत हो ।
आसन्न छैटौँ संस्करणमा पनि नेपाललाई प्रमुख चुनौती भारतकै रहने करिब निश्चित छ । यद्यपि, समूह चरणमा भने नेपालले भुटान र श्रीलङ्कासँग खेल्ने छ ।
मङ्गलवार बेलुकी ५ः३० बजे दशरथ रङ्गशालामा भुटानसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, श्रीलङ्का विरुद्धको दोस्रो खेल २७ गते सोमबार हुनेछ । यदि, नेपाल र भारतले समूहको शीर्ष दुईमा स्थान बनाउन सके भने यी दुई टिमको सेमिफाइनल वा फाइनलमा भेट हुने निश्चित छ ।
लिग कम नकआउट चरणमा प्रतियोगितामा दुई समूहका विजेता/उपविजेता आपसमा खेल्ने छन् । यसो हुँदा नेपाल र भारत दुवै समूह विजेता वा दुवै उपविजेता भए भने फाइनलमा मात्रै भेट हुनेछ ।
तर, नेपाल र भारतमध्ये एक विजेता र अर्को उपविजेता बने भने सेमिफाइनलमै दुई टिमबिच भेट हुनेछ ।
यद्यपि, त्यहाँसम्म पुग्न नेपालले समूह चरणको चुनौती पार गर्नु पर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्