तपाईँ सुन्दै हुनुहुन्छः

२१० उम्मेदवारले गरे आयोगको स्पष्टीकरणको बेवास्ता

सोलुखुम्बु । सोलुखुम्बुका २ सय बढी उम्मेदवारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका ४३१ जना उम्मेदवारमध्ये २१० जनालाई आयोगले सोधेको स्पष्टीकरण पेस नगरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनाव खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ । तर जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका ८०७ जना उम्मेदवारमध्ये ४३१ जनाले तोकिएको समयमा खर्च विवरण बुझाएका थिएनन् ।

उनीहरूलाई आयोगले भाद्र १ गतेदेखि ७ गतेसम्म लिखित स्पष्टीकरण बुझाउने समय दिएको थियो । तर सो समयमा जिल्लाका २२७ जनाले मात्रै लिखित स्पष्टीकरण पेस गरेका छन् । स्पष्टीकरणको बेवास्ता गर्नेहरूमा सोलुदूधकुण्ड नगरपालिकाका ६२, थुलुङदूधकोशी गाउँपालिकाका १७, महाकुलुङ गाउँपालिकाका २८, लिखुपिके गाउँपालिकाका १५ र माप्य दुधकोसी गाउँपालिकाका १७ जना छन् ।

त्यस्तै, सोताङ गाउँपालिकाका ३४, नेचासल्यान गाउँपालिकाका १४ र खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ जना उम्मेदवार रहेका छन् । निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोग ऐन, २०७३ अनुसार राजनीतिक दल वा उम्मेदवारले गरेको खर्च वा पाँच लाखमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम निर्वाचन आयोगले जरिवाना गर्ने व्यवस्था गरेको छ ।

छ महिनासम्म जरिवाना रकम नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन वा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button