गौरा पर्वको संरक्षण र प्रवर्द्धनमा सबै लाग्नुपर्छ: मन्त्री बडू
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिम प्रदेश लगायत क्षेत्रमा मनाइने गौरा पर्वको संरक्षण र प्रवर्द्धन गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।

गौरा पर्व २०७९ को अवसरमा प्रशंसा संरक्षण समूहले आयोजना गरेको कार्यक्रममा मन्त्री बडूले गौरा पर्व र मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वको संरक्षणको निम्ति सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै सरकारको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा रहेको गौरा पर्व, देउडा संस्कृतिको संरक्षण र संवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
गहुँ, केराउ, गहत, मास र गुरौसबाट बन्ने बिरुडा खाएर धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्ति तथा इष्ट र कुलदेवता खुसी हुने विश्वासका साथ मनाइने गौरा पर्वलाई धार्मिक सहिष्णुता र सद्भावको रुपमा पनि हेरिन्छ । गौरा पर्वको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले गौरा पर्व सुदूरपश्चिमको मात्रै नभएर सिङ्गो देशकै पर्व भएको बताउँदै त्यसको संरक्षण पनि सिङ्गो देशले नै गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) का नेता भीमबहादुर रावलले पछिल्लो समयमा कला, संस्कृति, भाषा कमजोर भन्दै गएको भन्दै त्यसको राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो ।
पूर्वमन्त्री चन्द्रदेव जोशी, नेपाली काँग्रेसका नेता रमेश लेखक, सांसद निरादेवी जैरु र नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्ट लगायतले गौरा पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्