तपाईँ सुन्दै हुनुहुन्छः

हिमाका सय दिन : ‘पालिका केन्द्र तोक्नेदेखि ३६ हजार वृक्षारोपणसम्म’

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको बिहीबार सय दिन पुगेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावबाट निर्वाचित भई शपथ ग्रहण गरी काम थालेको सय दिन पुरा भएको अवसरमा हिमा गाउँपालिकाले आफ्नो प्रगति सार्वजनिक गरेको छ । 

हिमा बुलेटिन प्रकाशन मार्फत हिमा गाउँपालिकाले आफ्ना सय दिनको प्रगति सार्वजनिक गरेको हो । जसमा पालिकाको केन्द्र तोक्ने देखि ३६ हजार बढी वृक्षारोपण लगायत थुप्रै काम भएका छन् । 

२४ पेजको हिमा बुलेटिनमा सय दिनका सबै गतिविधि उल्लेख गरिएको छ । यद्यपि,नेपालका ७ सय ५३ स्थानीयमै पहिलो आफ्ना प्रगति गतिविधि समेटिएको बुलेटिन प्रकाशन गरेको हिमा गाउँपालिकाको दाबी छ । 

हिमाले नयाँ जनप्रतिनिधि पाए सँगै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सञ्चार, चुस्त सेवा प्रवाह तथा सुशासन पारदर्शितामा उल्लेखीय काम भएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताउनुभयो । 

सय दिनको गतिविधि समेटिएको हिमा बुलेटिन सार्वजनिक कार्यक्रम,  तस्बिर: सागर परियार । 

उहाँले भन्नुभयो,“सय दिनको अवधिमा अघिल्लो सरकारले तोक्न नसकेको पालिका केन्द्र बाजगाडामा तोकेका छौ । पाँच वर्षमा ढाई लाख बिरुवा रोप्ने अभियान अन्तर्गत ३६ हजार ४६२ बिरुवा रोपिएको छ । पालिकास्तरीय आँखा उपचार केन्द्र स्थापना, शिविर सञ्चालन, चिउडी साँघु बनाउने कालिगडलाई सम्मान, सरकारी विद्यालयमा अङ्ग्रेजी शिक्षा परिक्षण जस्ता काम अघि बढाएका छौ ।”

साथै हिमा ६ स्थित बालुवा खोलामा नाग्म हुँदै रारा जाने पर्यटकका लागि अल्पकालिन पुल निर्माण गरिएको छ । जसले बर्खामा मोटरसाइकल बगाउने समस्याको समाधान भएको छ । आँखा उपचार र हड्डी सम्बन्धी शिविर सम्पन्न भएको छ । जसबाट एक हजार बढी नागरिक लाभान्वित भएका थिए । 

अघिल्लो सरकारले पाँच वर्षमा समेत पालिकाको केन्द्र टुङ्गो लगाउन सकेको थिएन् । तर दोस्रो चुनावबाट निर्वाचित अध्यक्ष लक्ष्मण शाही लगायतका जनप्रतिनिधिले सय दिनमै पालिकाको केन्द्र टुङ्गो लगाएर प्रशासकीय भवन निर्माणको बाटो खुलेको छ । 

‘ग्रिन रोड, ग्रिन रिभर’ र हराभरा हिमा बनाउने नीति अनुसार पाँच वर्षमा साढे दुई लाख बिरुवा रोप्ने लक्ष्य अनुसार सय दिनमा साढे ३६ हजार बिरुवा रोपिएको छ । जलवायु परिवर्तनको असर कम गर्न,बाढी पहिरो भू–क्षयको समस्या रोक्न वृक्षारोपण अभियान चलाइएको हो । 

हिमालाई सेवा प्रवाह र सुशासन पारदर्शितामा जिल्लाकै नमुना पालिका बनाउनका लागि आफ्ना गतिविधि समेटिएको हिमा बुलेटिन रहेको तीन महिनामा प्रकाशन हुने समेत अध्यक्ष शाहीले उल्लेख गर्नुभयो । 

हिमा १ का वडाध्यक्ष रतन बहादुर शाही र ६ का वडाध्यक्ष उपराज अधिकारीले हिमा गाउँपालिकाले पाँच वर्षमा नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकता दिँदै सेवा प्रवाह र विकास निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाँच वर्षपछि घोषणापत्र अनुसारका काम हेर्नका लागि समेत हिमा अध्यक्ष शाहीले आम नागरिकलाई अपिल गर्नुभएको छ । 

सीमित स्रोत र असीमित आवश्यकताका बीच पनि हामीले नागरिकलाई सन्तुष्ट हुने गरी सेवा दिन र सबै क्षेत्रको विकास गर्न लागि परेको हिमा १ का वडाध्यक्ष रतन बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार जुम्लामै पहिलो सामाजिक सुरक्षा भत्ता बुझ्न जाँदा निःशुल्क यातायात सेवा हिमा १ नम्बर वडाले शुरु गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button