सिम्रौनगढमा आठ वर्षपछि मालपोत र नापी कार्यालय सञ्चालनमा

बारा । बाराको सिम्रौनगढमा आठ वर्षपछि मालपोत र नापी कार्यालय सञ्चालनमा आएको छ ।
मालपोत र नापी कार्यालयको सेवा केन्द्र विस्तार गर्ने सरकारको निर्णय कार्यान्वयन हुन आठ वर्ष लागेको हो ।
कलैयाबाट प्रदान गरिने सेवा विस्तार गर्दै सिम्रौनगढमा कार्यालय थप गर्ने सरकारी निर्णय कार्यान्वयनमा आउन आठ वर्ष लागेको हो ।
सरकारले २०७१ साल असोज ३० गते कलैयास्थित जिल्ला मालपोत र नापी कार्यालयको सेवा केन्द्र सिमरा र सिम्रौनगढमा थप गर्ने निर्णय गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले गरेको उक्त निर्णयअनुसार सिमरामा चार वर्षपछि मालपोत कार्यालय स्थापना भएपनि सिम्रौनगढमा भने हुन सकेको थिएन् ।
कलैयामा भएको आन्दोलनका कारण सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय स्थगन गरेको थियो । सरकारी निर्णय अनुसार सिम्रौनगढमा नापी कार्यालय सोही समय स्थापना गरिएको थियो । मासिक ३२ हजारसम्म घर भाडा तिरेर नापी कार्यालय सिम्रौनगढमा राखिएको भएपनि मालपोत कार्यालय स्थापना गर्न नसक्दा उक्त कार्यालयले सेवा दिन सकेको थिएन् ।
मालपोत कार्यालय विस्तार नभएका कारण तीन वर्षपछि नापी कार्यालय पुनः कलैया फर्काइएको थियो ।
सिम्रौनगढमा स्थापित उक्त कार्यालयबाट सिम्रौनगढ, पचरौता, आदर्शकोतवालको सबै वडा र महागढीमाई, देवताल, बारागढीको एक–एक वडाका नागरिकले सेवा लिन सक्नेछन् ।
सेवा केन्द्र विस्तार हुन नसक्दा उक्त क्षेत्रका नागरिक कलैया आएर सेवा लिनुपर्ने बाध्यतामा रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्