तपाईँ सुन्दै हुनुहुन्छः

ढाका बुनाइमै भविष्य खोज्दै तिला गाउँपालिकाका महिला 

जुम्ला  । सहरको तुलनामा गाउँका महिला आर्थिक रुपमा सक्षम हुँदैनन् । गाउँका महिलालाई व्यापार व्यवसाय, उद्यमशीलतामा अग्रसर हुन पारिवारिक तथा सामाजिक परिवेशले पनि दिएको छैन । सिप क्षमता आँट नभएर होइन, महिला घरभन्दा बाहिरको काम गर्न सक्दैनन्, मेलापात घरधन्दा महिलाको पेवा जस्तो ठान्ने प्रवृत्ति समाजमा विद्यमान छ । जसका कारण अझै अधिकांश महिला आर्थिक सामाजिक र राजनीतिक रूपले मुल प्रवाहमा आउन सकेका छैनन् । 

तर तिला गाउँपालिका वडा नं. १ की सङ्गीता बुढा समाजको सङ्कीर्ण सोचभन्दा माथि उठेर एक नमुना उद्यमी बन्ने बताउनुहुन्छ । उहाँ तीन महिने ढाका बुनाई तालिम लिइरहनुभएको छ । ढाकाबाट उत्पादन हुने सल, चोली कपडा, गलबन्दी, सारी र धोती लगायतका कपडा बुन्न सिकिरहनुभएको छ । तालिम पछि व्यवसायीक रुपमा ढाका उद्योग खोल्ने सङ्गीताको सोच छ । 

सङ्गीताले भन्नुभयो, “महिलाले पनि आर्थिक कमाउन सक्छन्, सफल उद्यमी बन्न सक्छन् भन्ने उदाहरण देखाउन चाहन्छु । सधैँ घरधन्दा समाल्नु पर्ने, मेलापात धाउनुपर्ने महिलाको मात्रै ठेक्का हैन । अब महिलाहरूबाट नै आर्थिक क्रान्ति अघि बढ्नु पर्छ । त्यसको शुरुवात उद्यमशीलताले गर्छ ।”

त्यस्तै, तिला गाउँपालिका ९ की अन्जु बढाले पुरुष सरह आर्थिक रुपमा महिला सक्षम बन्न उद्यमशीलताको विकल्प नरहेको बताउनुभयो । 

महिलाको परनिर्भरता अन्त्यको विकल्प पनि उद्यमशीलता नै हो । अन्जु भन्नुहुन्छ,“मेहनत गरी तीन महिने तालिमबाट ढाका बुनाई सिप सिक्दै छु । तालिम पछि व्यवसायीक रुपमा उद्योग खोल्ने सोच छ । स्थानीय तहले सहयोग गरे ढाका उद्योगलाई थप बृहत्तर बनाउँछु । बढ्दो ढाकाको कपडाको माग जुम्लामै धान्ने गरी उत्पादन बढाउँछु ।”

गाउँपालिका ९ की रामछाया थापाले पनि एक महिना खरायोको टोपी बुन्ने तालिम सिक्दै हुनुहुन्छ । थापाले खरायोको टोपीसँगै मनग्य कमाउने सपना समेत देख्न थाल्नुभएको छ । जुम्लामा खरायोको टोपीको माग बढ्दो छ । घरमै थन्किनु भन्दा उद्यम गरेर आर्थिक रुपमा सक्षम बन्ने हुटहुटी पलाएको समेत रामछायाले बताउनुभयो । यसरी तिलाकी रामछाया, अन्जु र सङ्गीता समाजको सङ्कीर्ण सोचभन्दा माथि उठेर उद्यमशीलतातर्फ अग्रसर हुन थाल्नुभएको छ ।  

वल्र्डभिजनको आर्थिक सहयोग र किर्डाक नेपालको साझेदारीमा सञ्चालित (एकिकृत पोषण तथा उत्थानशील जीविकोपार्जन) परियोजनाबाट तीन महिने ढाका बुनाई र एक महिने खरायो टोपी बुन्ने तालिम सञ्चालन भएको छ । जसमा ढाका बुनाइमा २० र टोपी बुन्नेमा ३० जना महिला सहभागी हुनुहन्छ । तालिम पछि स्थानीय सरकारले आवश्यक लगानी गरे नमुना उद्यमी बनेर छाड्ने उहाँहरूको अठोट छ । 

किर्डाकले दिएको व्यवसायीक योजना सम्बन्धी तामिल र सिपले भविष्यमा सफल उद्यमी बन्ने आँट आएको समेत तिलाकी विष्णुकली रोकायाले बताउनुभयो । 

पहिला घरकै काममा व्यस्त हुने रोकाया आज भोलि उद्यमी बन्न ढाका बुनाई सिक्दै हुनुहन्छ र कच्चा पदार्थको आपूर्ति तथा बजार व्यवस्थापन भएको खण्डमा ढाकाका कपडा र खरायोको टोलीको निर्यात अपेक्षा भन्दा बढी हुने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको भनाई छ । 

गाउँमा रोजगारी सृजना गर्न तथा उद्यमशीलताको विकासका लागि स्थानीय सरकारले आवश्यक लगानी गर्ने तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाको प्रतिबद्धता छ । 

तालिम पछि प्रत्येक महिलाले ढाका बुन्ने मेसिन पाउने छन् । किर्डाकका कार्यक्रम अधिकृत श्री बहादुर भण्डारी भन्नुहुन्छ, “महिला उद्यमशीलता विकासका लागि सिप । प्रविधि दिँदै छाँै । दिगोपना र निरन्तरतामा स्थानीय सरकार जबाफदेही हुनुपर्छ । महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्त बनाउने परियोजनाको उद्देश्य छ ।”

साथै वर्ल्ड भिजनको सहयोगमा किर्डाकले तिला तातोपानी, चन्दननाथ र पातारासीमा कार्यबोझ न्युनिकरण, पोषणमा वृद्धि, उत्पादन वृद्धि, उद्यमशीलता, होटल व्यवसाय, खुद्रा व्यापार लगायतका विभिन्न क्षेत्रमा काम गर्दै वल्डभिजन जुम्लाका प्रमुख भेष बहादुर रावलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button