‘पोखरा विमानस्थलका संरचनाको अधिकतम सदुपयोग गरौँ’
कास्की । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल सञ्चालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
पोखराको विकास सन्दर्भमा आज एक प्रेस नोट जारी गर्दै उहाँले विमानस्थल भू माफियाको कब्जामा जानबाट रोक्न र रङ्गीचङ्गी फूल, वनस्पति तथा हरियालीसहितको ‘बोटानिकल गार्डेन’ बनाउने कार्यमा अग्रसरता लिन पोखरा महानगरसँग आग्रह गर्नुभयो ।

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अहिलेको विमानस्थलको संरचना र जमिनमा व्यापारिक कम्प्लेक्स बनाउने तथा जमिन भाडामा लगाउने चर्चाबिच नेता पौडेलले यस्तो आग्रह गर्नुभएको हो ।
“हिमाल, तालतलैया, रमणीय प्रकृति, संस्कृति र जनजीवनले स्वर्गको टुक्रा झैँ अनुभूत हुने पोखरामा बन्ने सुन्दर बोटानिकल गार्डेनले त्यहाँ पुग्ने पर्यटक घुम्ने थप गन्तव्य मात्र हुने छैन, यसले बढ्दो घना सहरीकरणसँगै खुला ठाउँको अभावको पूर्ति गर्नेछ, यस प्रकार जमिनको सदुपयोग, संरक्षण र प्रभावकारिता बढ्नेछ भने पर्यटकको बसाई लम्बाउन मद्दत गर्नेछ”, नेता पौडेलले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।
पोखरा विमानस्थलको जमिनको उच्चतम सदुपयोगका लागि यससँग सम्बद्ध सरकारी निकाय, गैरसरकारी निकाय, पर्यटन व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारण सरोकारवाला सबैमा सर्वपक्षीय छलफलका लागि उहाँले आह्वान समेत गर्नुभएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्