‘धार्मिक क्षेत्रको प्रवर्द्धनका लागि धार्मिक सर्किटको योजना आवश्यक’
सुनसरी । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीमा रहेका धार्मिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि धार्मिक सर्किटको योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार वराहक्षेत्र–६ चक्रघट्टि स्थित महेन्द्र माध्यमिक विद्यालयमा निर्माण भएको नेपाल– भारत मैत्री भवनको उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले संसारभरका हिन्दु धर्मावलम्बीको आस्था र विश्वासको रुपमा रहेको सुनसरीको रामधुनि र वराहक्षेत्र धामको भौतिक विकास र प्रवर्द्धनमा तिनै तहका सरकारले योजना बनाउनुपर्ने बताउनुभयो ।
नेपाल र भारतबिच सांस्कृतिक, धार्मिक, भाषिक रूपले पनि सम्बन्ध प्रगाढ रहेको बताउँदै मन्त्री कार्कीले नेपाल र भारतका धार्मिक क्षेत्रलाई जोडेर धार्मिक सर्किटको योजना बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा भारत सरकारको २ करोड अनुदान सहयोगबाट निर्माण भएको भवन मन्त्री कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

मन्त्री कार्कीले विभिन्न समयमा भारत सरकारले विद्यालय भवन निर्माण, एम्बुलेन्स, स्कुल बस लगायत सहयोग गर्ने गरेको बताउनुहुँदै राजदूत श्रीवास्तवलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले नेपालको विकासमा भारत सरकार सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको सभाध्यक्षतामा भएको कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले कोसी कटान, डुबानलाई क्षतिपूर्ति र कटान नियन्त्रणको दीर्घकालीन समाधानको खोजी गर्न नेपाल सरकार र भारतीय सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्