समयमै निर्माण सम्पन्न गर्ने ठेकेदारलाई पुरस्कृत गरिने : गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले समयमै निर्माण सम्पन्न गर्ने ठेकेदारलाई पुरस्कृत गरेर प्रोत्साहन गर्ने नीति सरकारले अघि सारेको बताउनुभएको छ ।
शुक्रबार रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ४ वेतहनीमा पश्चिमपाहुनी–वेतहनी–फर्साटिकर सडकखण्डमा पर्ने तिनाउ नदीमा निर्माण हुने पुल शिलान्यास कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री खाँडले सरकारले बनाएको नीतिअनुसार समयमै पुल सम्पन्न गर्ने ठेकेदारहरूलाई राष्ट्रपतिबाट प्रदान गरिने विभूषित पुरस्कारबाट सम्मान गरिने बताउनुभयो । तीन वर्षभित्र पुल निर्माण हुने समयावधि रहेकाले निर्धारित समयमा काम पूरा गर्न तीनै तहको सरकारले सहयोग गर्ने र ठेकेदारलाई पनि समयमा काम पूरा गर्न निर्देशन गर्नुभयो ।
तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिका जोड्ने यो पुलले कृषि क्षेत्रको बजारीकरण तथा पर्यटनलाई समेत सहयोग पुग्ने भएकाले सोही अनुसार दुवै पालिकाले योजना बनाउन उहाँको आग्रह थियो । रुपन्देही विकास र समृद्धि आफ्नो प्रमुख योजना भएकाले बताउँदै उहाँले विकासका आधारभूत कामहरू सकेर मात्रै समृद्धि ल्याउन सकिने बताउनुभयो । आफू सरकारमा रहेकाले पुलको निर्माण समयमै सम्पन्न गर्ने तयारीका साथ अगाडि बढिएको उहाँको भनाइ छ ।
घनाबस्ती रहेको गाउँ सहरिया बस्तीसँग जोडिँदै गर्दा यहाँको विकासले फड्को मार्न तिनाउ नदीको यो पुलले सहयोग पुग्ने उहाँले बताउनुभयो ।
गृहमन्त्री खाणले २०४८ सालमा चुनावी माहौलमा हिँड्दै गर्दा भोगेका पीडा सम्झँदै तिनाउ नदीमा थप पुल निर्माण थालिएको बताउनु भयो । वारिपारिका नागरिकलाई यात्रामा सहजता बनाउनको लागि पुल निर्माण गरिएको उहाँले बताउनुभयो ।
२१ करोड १५ लाख ४१ हजार ५ सय रकममा सबै काम सक्ने गरी हिराचन कालीगण्डकी सिद्धार्थ जेभिले यसको ठेक्का पाएको छ । ०७७ पुस २८ गते ठेक्का भएको यो पुलको काम पूरा हुने अवधि २०८० पुस २७ गते राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्