तपाईँ सुन्दै हुनुहुन्छः

अक्षयकोषको छात्रवृत्तिबाट विद्यार्थीलाई पोशाक वितरण

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ स्थित शहिद नरनाथ आधारभूत विद्यालयको आयोजनाका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । विद्यालयमा रहेको साझा अक्षयकोषको छात्रवृत्तिबाट ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । 

बालबालिकालाई पोशाक वितरण गर्दै गाउँपालिका उपाध्यक्ष विना राईले शिक्षक र अभिभावकको सक्रियताले सामुदायिक विद्यालयको गुणस्तर उकास्न सकिने बताउनुभयो । प्रविधिमैत्री सिकाइबाट सजिलो प्रकारले सिकाई उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो ।

नयाँ पोशाक पाएपछि विद्यार्थीहरू खुशी भएका छन् । त्यस अवसरमा विद्यालय रहेको वडाका अध्यक्ष सिताराम भट्टराईले वडाको तहबाट विद्यालयको शैक्षिक तथा भौतिक विकासका कार्यमा विनियोजन भएका स्रोतको सदुपयोगमा सचेत रहेको र सामुदायिक विद्यालयको गुणस्तर उकास्न वडापालिका प्रतिबद्ध रहेको बताउनुभयो । 

गाउँपालिकाका शिक्षा शाखा संयोजक माधवमणि ढुङ्गानाले सिकाई उपलब्धि सुधारमा अभिभावक र शिक्षकको भूमिका उत्तिकै हुने बताउनुभयो । उक्त विद्यालयलाई सोलुखुम्बुको शैक्षिक क्षेत्रमा काम गर्ने रीड नेपालले नमुना विद्यालय घोषणा गरेर सहयोग गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button