प्रतिनिधिसभातर्फ सहभागी हुने दलको सङ्ख्या ८७ कायम

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ सहभागी हुने दलहरूको सङ्ख्या ८७ कायम भएको निर्वाचन आयोगले जनाएको छ ।
७५ राजनीतिक दलहरूले एकल निर्वाचन चिन्हमा र १२ वटा राजनीतिक दलहरूले ३÷३ दल गरी ४ समूहबाट प्रतिस्पर्धा गर्ने भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७९ दलका निर्वाचन चिन्ह कायम रहने आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरी, आयोगको बैठकले प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनका लागि प्रदेश नं. १ मा ६२ वटा दलका निर्वाचन चिन्हहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ७०, मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिन्हहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ७५, बागमती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिन्हहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ७२, गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिन्हहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ६६, लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिन्हहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ६८, कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ६४ रहने गरी निर्णय गरेको प्रवक्ता अर्यालले बताउनुभयो ।
नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)–१ समेत गरी ५ वटा राजनीतिक दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुने गरी दल दर्ताको निवेदन पेश गरेको हुँदा ती दलहरूलाई छुट्टै दलको रूपमा दर्ता नगर्ने आयोगले निर्णय गरेको छ ।
आयोगले राष्ट्रिय यथार्थवादी पार्टी, नेपालले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङ्गे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिन्ह दल दर्ताको निवेदन पेश गर्दा माग गरेकोले ती दलहरूलाई माग बमोजिम कै निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको छ ।
दर्ता भएका राजनीतिक दलहरू मध्ये निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभा/प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधिसभा/ प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगमा दल दर्ता भएको क्रमको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने र यसरी निर्धारण गरिएका निर्वाचन चिन्ह नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्