नेपाल र बङ्गलादेश विद्युत् व्यापार सम्झौता गरी अघि बढ्न सहमत
काठमाडौँ । नेपाल र बङ्गलादेश आपसमा विद्युत् व्यापार सम्झौता गरेर अघि बढ्न सहमत भएका छन् ।
नेपाल–बङ्गलादेशबिच बुधबार भएको ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्य समूहको बैठकले दुई देशबीच विद्युत् व्यापार सम्झौता गरेर अघि बढ्न सचिव स्तरीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बस्ने दुई देशका सचिव स्तरीय बैठकले अन्तिम रूप दिएपछि सम्झौताको प्रक्रिया अगाडि बढ्ने छ ।
बैठकमा दुई देशका बीचमा क्रस बोर्डर विद्युत् व्यापारका लागि बङ्गलादेश र नेपाल दुवैले आ–आफ्नो तहबाट भारतसँग पहल गर्ने सहमति भएको र बुधवारका निर्णयहरू बिहीबार बस्ने सचिव स्तरीय बैठकले पारित गरेपछि मात्र सार्वजनिक गरिने नेपाली वार्ता टोलीका नेता सहसचिव मधुकुमार भेटवालले बताउनुभयो ।
बैठकमा सुनकोशी तेस्रो जलविद्युत आयोजनाको संयुक्त रुपमा निर्माण अघि बढाउनेसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन प्रस्तुत गरेर छलफल भएको थियो । बैठकमा दुई देशबीच व्यापार सम्झौता गर्ने, नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने, अनुभवहरूको आदानप्रदान गर्ने, ऊर्जा क्षेत्रमा क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
दुवै टोलीले संयुक्त रुपमा मङ्गलवार सुनकोसी–३ जलविद्युत आयोजनाको प्रस्तावित निर्माण स्थलको निरीक्षण गरेको थियो ।
सहसचिव स्तरीय बैठकको नेतृत्व नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव मधुकुमार भेटवालले र बङ्गलादेशको तर्फबाट पावर डिभिजनका अतिरिक्त सचिव मोहसिन चौधरीले गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्