खाद्यान्नमा बढेको मूल्य नियन्त्रण गर्न आन्तरिक उत्पादनमा जोड
जनकपुरधाम । युक्रेन–रसिया युद्धका कारण दैनिक उपभोग्य तथा कृषि सामाग्रीमा मूल्य बढ्दा निम्न तथा मध्यम वर्गका उपभोक्ता बढी मारमा परेकोमा चिन्ता व्यक्त गरिएको छ ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, एफ ए ओ को संयुक्त आयोजनामा जनकपुरधाममा भएको “नेपालमा कृषि र खाद्य प्रणालीमा विश्वव्यापी खाद्यान्न, दाना, मल, इन्धन वित्तीय सङ्कटको प्रभाव” सम्बन्धी एक दिने परामर्श कार्यक्रममा सहभागीहरूले मूल्यवृद्धिको समस्या समाधानका लागि आन्तरिक उत्पादन बढाउनुको विकल्प नभएकोमा जोड दिनुभयो ।
अहिले विश्वमा युद्धरत देशबाट गहुँ ४० प्रतिशत, मकै २० प्रतिशत र सूर्यमुखी तेल ५० प्रतिशत आपूर्ति हुने गरेका कारण नेपालमा ती खाद्य सामाग्रीको मूल्यमा वृद्धि भएको छ । कोरोना भाइरसका कारण शिथिल बनेको अर्थतन्त्रमा दुई देशको युद्धले थप समस्या निम्त्याएको बताउँदै सहभागीहरूले उत्पादन बढाउनुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले नेपालको मूल्य प्रणाली भारत, विश्व तथा आन्तरिक उत्पादनमा हुने घटबढका कारण प्रभावित हुने गरेको बताउँदै मूल्य नियन्त्रणका लागि स्वदेशमा नै उत्पादन बढाउनुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रमका सभापति मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले युक्रेन तथा रुसको युद्धबाट भएको मूल्यवृद्धिको असर कम गर्न स्वदेशमा खाद्यान्न उत्पादन बढाउनुको विकल्प नभएको बताउँदै मन्त्रालयले खाद्यान्न उत्पादन बढाउने नीति अख्तियार गरेको बताउनुभयो ।
एफएओका प्रतिनिधि निरञ्जन डङ्गोलले सातै प्रदेशमा सरोकारवालाहरूसँग परामर्श एवं सुझाव सङ्कलन गरी पाँच वर्षे रणनीति बनाउन लागेको बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं नेपाल सरकारका पूर्व सचिव डा. गणेश जोशीले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्