वीरगञ्ज भन्सारबाट एक महिनामा १२ अर्ब ९८ करोड राजस्व असुली
वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकीकृत भन्सार जाँच चौकी आइसिपी वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना अर्थात् साउनमा १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १५ अर्ब २० करोड राजस्व असुलीको लक्ष्य तोकेको भए पनि लक्ष्य भन्दा झण्डै १५ प्रतिशत कम राजस्व असुली भएको हो ।
चालु आर्थिक वर्षको पहिलो महिनामा वीरगञ्ज नाकाबाट हुने मालवस्तुको आयात निर्यात घट्नुको साथै भन्सारको यार्डमा अहिले १६ सय भन्दा बढी नयाँ गाडी जाँचपास हुन नसकेर थन्किएको कारण राजस्व असुली प्रभावित भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो ।
वीरगञ्ज भन्सार कार्यालयको यार्डमा झण्डै ७ अर्ब रुपैयाँ बराबरको गाडी थन्किएर बसेका छन् ।
त्यसैगरी सरकारले ड्राइ फुड, प्लाष्टिक जन्य खेलौना आदि मालवस्तुको आयातमा लगाएको प्रतिबन्धले पनि राजस्व असुली कम भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताउनुभयो ।
आइसिपी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत्र मसान्त सम्ममा १४ अर्ब ८४ करोड ७३ लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्