पढाईले प्रौढ महिलाहरुको आत्मविश्वास बढायो

म्याग्दी। अंक अक्षर लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटकी संगिता छिनालको अहिले आत्मविश्वास बढेको छ ।
उज्यालो बैकल्पिक विद्यालयको कक्षा १० मा पढ्ने संगितालाई शिक्षा हाँसिल गरेपछि सहरका चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोवाइल चलाउन अरुको सहायता लिनुपर्ने समस्या हटेको छ ।
“विहे गर्दा कक्षा १ सम्म मात्र पढेको थिए, एबिसि लेख्न पनि जानेको थिइन । कुनै सहरमा जाँदा कहाँ आइपुगेको छु भन्ने बुझ्न अरुलाई सोध्नुपर्दथ्यो । निकै समस्या हुन्थ्यो,” उहाँले भन्नुभयो “अंग्रेजीबाट नाम लेख्ने र लेखेको कुरा पढ्न सक्ने भएको छु । अरुले बोलेको बुझ्न सक्छु । पहिले भन्दा अहिले धेरै सजिलो भएको र खुसी लागेको छ ।”
संगिता जस्तै विद्यालय जाने उमेरमा पढ्न नपाएका र बिचैमा पढाई छाडेकाहरुको लागि बेनीको उज्यालो बैकल्पिक विद्यालय एसईई तहसम्मको शिक्षा हाँसिल गर्ने थलो बनेको छ । ८ वर्षअघि स्थापना भएको विद्यालयमा हालसम्म १०० जना भन्दा बढीले पढेका छन् ।
९ जनाले पछिल्लो दुई वर्षमा एसईई उतिर्ण गरेका छन् । हाल विभिन्न कक्षामा पढ्ने ४० जना सबै महिला छन् । भर्ना भएका केही विद्यार्थीले लेखपढ गर्न जानेपछि पढाइलाई निरन्तरता दिएनन् । घरायसी कामधण्दा सकेर झोलाभरी कापी किताब बोकेर बिहान ११ बजे विद्यालय आउने आमाहरु दिउँसो ३ बजे घर फर्कन्छन् ।
“खेती किसान, घरको व्यवहार, घाँस, दाउरा गर्ने चलन थियो । इच्छा भएर पनि पढ्न पाइएन,” कक्षा १० मा पढ्ने ५० वर्षीय डिलकुमारी पुनले भन्नुभयो “बालबच्चाले पढेर सके । अहिले फुर्सद मिल्यो । उमेर ढल्कीएकाले गाहे भएपनि पाएको अवसर सदुपयोग गरेर एसईई उतिर्ण गर्ने लक्ष्य राखेकी छु ।”
भर्ना हुन आउने विद्यार्थीको क्षमता पहिचान गरी कक्षामा राख्ने र पढाउने गरिएको छ । तत्कालीन शिक्षा कार्यालय मार्फत बेनी सामुदायिक माविलाई मातृ विद्यालय मानेर स्थापना भई समुदाय स्तरबाट विद्यालय सञ्चालन गरिएको हो ।
७ जना शिक्षकहरुको तलबभत्ता बेनी नगरपालिकाले उपलब्ध गराउने यस विद्यालय सञ्चालनमा स्थानीयबासी, विभिन्न संघ संस्था र प्रवासीहरुले पनि सहयोग गरेका व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
“१६ वर्ष भन्दा बढी उमेरका बिचैमा पढाई छाडेकाहरुका लागि स्थानीय युवाहरुको अग्रसरतामा विद्यालय सञ्चालन गरेका हौ,” उहाँले भन्नुभयो “बेनी सामुदायिक माविलाई मातृ विद्यालय बनाएका छौ । विज्ञान र कम्प्युटर ल्याब स्थापना गर्न सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो ।”
सामाजिक विकास कार्यालयको भवनमा सञ्चालन भएको विद्यालयमा आफ्नै पूर्वाधार, दिगो आर्थिक स्रोतको अभाव तथा शिक्षकहरुलाई तालिमको आवश्यकता देखिन्छ । सुरुवाती चरणमा बेनी पुस्तकालयको भवनमा कोठा भाडामा लिएर कक्षा सञ्चालन गरिएको विद्यालय तीन वर्षअघि तत्कालीन महिला तथा बालबालिका कार्यालयको खाली भवनमा सारिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्