‘सङ्घीय शासन प्रणाली बलियो र सुदृढ बनाउने दायित्व दलहरूको’
विराटनगर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय शासन प्रणालीलाई बलियो र सुदृढ बनाउने दायित्व दलहरूको भएको बताउनुभएको छ ।

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति र प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा विराटनगरमा आयोजित ‘सङ्घीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले दलहरू जनताप्रति समर्पित भएमा सङ्घीय शासन प्रणाली थप सबल हुने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले सङ्घीयता साध्य हो साधन होइन भन्दै यसलाई सबलीकरण गर्न राजनीतिक दलहरूको व्यवहारमा परिवर्तन गरि जनतालाई परिवर्तनको अनुभूति गराउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयतालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै यसमा रहेका कमी कमजोरीलाई सुधार गर्दै जानुपर्ने बताउनुभयो । सङ्घीयतालाई बलियो बनाउन प्रदेश सरकारलाई संघीय सरकारले थप अधिकार दिनुपर्ने उहाँको भनाई थियो ।
प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सङ्घीयतालाई सुदृढ बनाउन सङ्घ र प्रदेशबिच साझा अधिकार सुनिश्चितताको कानून आवश्यक रहेको बताउनुभयो ।
समितिका संयोजक एवं कार्यक्रमका अध्यक्ष डा खिमलाल देवकोटाले सङ्घीयताको स्थापनाबाट दुर्गम क्षेत्रसहित मुलुकमा सडक, स्वास्थ्य, पूर्वाधार निर्माण तथा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय विकास भएको बताउनुभयो ।
अन्तरक्रियामा प्रदेश न १ का स्वास्थ्य मन्त्री जयराम यादवले सङ्घीयताले सबै जातीय समुदायको भावनालाई जोडने काम गरेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभासद् सर्वध्वज सावा, शिवनारायण सिंह, विमल कार्की तथा स्थानीय तहका प्रमुखहरुले सङ्घीयतालाई सबल बनाउन आवश्यक कानुन, कर्मचारीको व्यवस्थापन तथा दिगो विकास आवश्यक रहेकोमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्