सप्तरीमा मिटर ब्याजीविरुद्ध १ सय १४ वटा उजुरी दर्ता

सप्तरी । सप्तरीमा मिटरब्याजी विरुद्ध १ सय १४ वटा उजुरी दर्ता भएको छ ।
सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै जिल्ला प्रशासन कार्यालय सप्तरीमा १ सय १४ जनाले उजुरी दर्ता गराएको हो ।
मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट १ सय १४ वटा उजुरी परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराएर जिल्ला प्रहरी कार्यालय र प्रशासनले पनि आफ्नै तरिकाले अध्ययन गरिरहेको उहाँले बताउनु भयो ।
दर्ता भएको निवेदनमाथि प्रमाणको आधारमा सरकारी वकिलसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्