सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध: गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गृह मन्त्रालयमा आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खाती सहितको पत्रकार सम्मेलनमा उहाँले यसअघिको सरकारले नेकपासँग २०७७ साल फागुन २० गते गरेको तीनबुँदे सम्झौता कार्यान्वयनमा गइसकेको र केही प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
उहाँले नेपाल सरकारले विगतदेखि नै राजनीतिक समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्दै आएको उल्लेख गर्दै नेकपासँगको सहमति कार्यान्वयन गर्न सरकार मातहतका निकायले काम गरिरहेको अवगत गराउनुभयो ।
कार्यक्रममा कानुनमन्त्री कोइरालाले सरकारले नेकपासँगको सम्झौता कार्यान्वयन गर्न प्रतिबन्ध हटाउनाका साथै नेता कार्यकर्ता रिहाइका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले सरकारले यसअघि गरेको तीनबुँदे सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो ।
महान्यायाधिवक्ता खातीले सरकार र नेकपाबीचको सहमति कार्यान्वयन भइरहेको बताउँदै संविधान र कानुनबमोजिम मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । नेताहरू विरुद्धका मुद्दाका सन्दर्भमा पुनरावेदन नलाग्ने गरी निर्णय भएको समेत उहाँले जानकारी गराउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्