तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ४३ जनाले दिए मिटरव्याजीविरुद्ध उजुरी  

धनगढी  । कैलालीमा ४३ जना पीडितले मिटरब्याजी (पिडक)विरुद्ध उजुरी दिएका छन् । 

मिटरब्याजीलाई कारबाहीको माग गर्दै उनीहरूले स्थानीय प्रशासनमा उजुरी दर्ता गराएका छन् । 

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार भदौ ५ गते सम्म ४३ जना पीडितले मिटरब्याजी विरुद्ध उजुरी दिएका छन् । प्राप्त उजुरीलाई एकीकृत गरि माथिल्लो निकायमा पठाउने तयारी भइरहेको छ ।

सरकारले भदौ ५ गतेभित्र पीडितहरूलाई मिटरब्याजी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिक आह्वान गरेको थियो । 

यसैबिच कैलालीमा समेत मिटरब्याजीको ठुलो सञ्जाल रहेको बताइएको छ । मिटरब्याजीमा संलग्नहरूले ब्याजमा दिएको रकमभन्दा तीन गुणा बढीसम्म लेनदेनको काजगत बनाउने गरेको पीडितहरूको भनाई छ । उनीहरूले रकम दिएर घरजग्गा समेत बन्धकी राख्ने गरेको देखिन्छ । सामाजिक डर तथा प्रतिष्ठाले गर्दा सार्वजनिक रुपमा आफूहरूले मिटरब्याजी विरुद्ध बोल्न नसके पनि सरकारको आह्वानपछि आफूहरूलाई मिटरब्याजी विरुद्ध उजुरी दिन सहज भएको पीडितहरूले बताएका छन् । 

कैलालीमा मिटरब्याजीको समूहले कतिपय परिवारलाई उठीवास लगाएको, बिचल्लीमा पारेको बताइएको छ । 

स्रोतका अनुसार पीडितहरूले स्थानीय प्रशासनमा उजुरी दिएपछि मिटरब्याजीको समूह जिल्ला प्रशासन कार्यालयसम्म धाउन थालेका छन् भने कतिपयले आपसमा लेनदेन मिलाउन प्रयास गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button