तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट विश्व कीर्तिमानी आरोहीलाई सम्मान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व कीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले आज बालुवाटार बोलाएर कीर्तिमानी आरोही सानु शेर्पा, निमा ग्याल्जेन शेर्पा र पासाङ ल्हामु शेर्पालाई बधाई तथा सम्मान प्रकट गर्नुभएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो ।

कीर्तिमानी आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको दुई पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । 

त्यस्तै निमा ग्याल्जेन शेर्पाले आठ हजार मिटरभन्दा माथिका विश्वका १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाउनुभएको छ ।

पासाङ ल्हामु शेर्पाले पाकिस्तानको नाङ्गा पर्वत आरोहण गरेर पहिलोपटक महिला आरोहीको कीर्तिमान कायम गर्नुभएको छ । 

सो अवसरमा प्रधानमन्त्री देउवाले कीर्तिमानी आरोहीले हिमाल आरोहणमा बनाएको कीर्तिमानले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा थप पहिचान प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पर्वतारोहीको प्रशंसा गर्नुभएको थियो ।

कीर्तिमानी आरोहीलाई नगदसहित राष्ट्रिय सम्मान गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सङ्घका महासचिव लम्सालले बताउनुभयो ।

कीर्तिमानी आरोहीका साथमा पर्यटनमन्त्री श्रेष्ठ, सांसद जिप छिरिङ लामा, पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पालगायत पर्यटन व्यवसायीहरू बालुवाटार पुग्नुभएको थियो । 

बालुवाटारमा प्रधानमन्त्रीबाट सम्मान भए लगत्तै आरोही टोलीलाई नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button