नागरिकता विधेयक माथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयक, २०७९ माथिको छलफल जारी छ ।
बैठकमा प्रतिनिधिसभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रपतिबाट फिर्ता भएपछि पुनः छलफल सुरु भएको हो ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले विधेयकलाई सहमतिका आधारमा पारित गरिनुपर्ने बताउनुभयो ।
सांसदहरुले राष्ट्रपतिबाट पुनर्विचारका लागि पठाइएका बुँदाहरू सहमतिका आधारमा संशोधन गरिनुपर्ने बताउनुभयो ।
यसैगरी सत्तापक्षका सांसदहरुले नागरिकता विधेयकलाई राजनीतिक मुद्दा नबनाई सहमतिमा पारित गरिनुपर्ने धारणा राख्नुभयो ।
सांसदहरुले नागरिकताबाट वञ्चित भएका नेपालीलाई समेट्न अहिलेको विधेयकलाई पारित गर्नुको विकल्प नरहेको बताउनुभयो ।
बैठकमा यसअघि, प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन (२०७७ श्रावण – २०७८ आषाढ)” पेश गर्नुभएको थियो ।
यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको १०भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरूको अनुपस्थितिको सूचना सभामा पेश गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्