तपाईँ सुन्दै हुनुहुन्छः

एक सय एकतीस अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) को निर्णयअनुसार आज एक सय ३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले १३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधिको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) वरिष्ठ अधिवक्ताको प्रमाणपत्र ग्रहण गर्नुहुँदै

वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, पूर्व महान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराई, बारका पूर्व महासचिव सुनिल पोखरेल, महिलाको सम्पत्तिको हकका लागि लडिरहनुभएकी मीराकुमारी ढुङ्गाना, मेघराज पोखरेल लगायत हुनुहुन्छ ।

सर्वोच्च अदालतको गत असार २९ गते बसेको पूर्ण बैठकले १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको थियो । त्यसमध्ये आज दुई जना उपस्थित हुनुभएन ।

समारोहमा प्रधानन्यायाधीश कार्की, वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश अनिल सिन्हा, सपना मल्ल प्रधान, हरि फुयाँल, नहकुल सुवेदी लगायत न्यायाधीश तथा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र अधिवक्ताहरू उपस्थित हुनुहुन्थ्यो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button