तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन: मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ ।

फाइल तस्बिर

सन्त नेता कृष्णप्रसाद भट्टराई फाउन्डेसनले आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई/शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताउनुभयो ।

मन्त्री कार्कीले विकास, सेवा प्रवाह र जनगुनासो सम्बोधन गर्दै परिणाम आउने गरी जनताको पक्षमा काम गर्न नेपाली कांग्रेस पार्टीबाट नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिनुभयो ।

मन्त्री कार्कीले सूचना, सञ्चार र प्रविधिको विकासले संसार गाउँमा परिणत भइसकेको उल्लेख गर्दै सञ्चार प्रविधिको अधिकतम प्रयोग गरेर मुलुकको समग्र विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

फाउन्डेसनका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद रमेशजङ्ग रायमाझीले फाउन्डेसनले भट्टराईका नामबाट विराटनगरमा विद्यालय स्थापना गर्ने योजना तयार गरेको बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button