तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने तयारी 

सुनसरी । सुनसरीमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुनसरीले विगतका आयोगहरूले थालेका भूमिसम्बन्धी अधुरा कामलाई पूर्णता दिँदै सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने तयारीमा जुटेको छ । 

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुनसरीका अध्यक्ष भगीरथ खत्वेका अनुसार पहिलो चरणमा बराहक्षेत्र नगरपालिका र धरान उपमहानगरपालिकाबाट आएको झण्डै १७ हजार आवेदन मध्ये एक हजार परिवारलाई लालपुर्जा वितरण गर्ने तयारीमा जुटेको हो ।

आयोगले प्रकाशन गरेको सूचनाका आधार आएको आवेदन र विगतका समितिले सङ्कलन गरेका आवेदन र पूरा गरेका प्रक्रियालाई निरन्तरता दिएर जग्गाको लालपुर्जा वितरणको तयारी थालिएको अध्यक्ष खत्वेले जानकारी दिनुभयो ।

यसअघिको आयोगले सुनसरीमा झन्डै एक सय परिवारलाई लालपुर्जा वितरण र अन्य हजारौँ परिवारका जग्गा नाप–जाँचलगायतका काम अघि बढाएको थियो । आयोगले लालपुर्जा बाँड्ने अन्तिम सुरसार गरिरहेका बेला उक्त आयोग नै खारेज भएको थियो । 

भूमिसम्बन्धी समस्या समाधानका लागि गठित आयोगले विगतमा भएका कामलाई नै अगाडि बढाएको र नयाँ समेतको आयोगले आवेदन लिएर अबको केही हप्तापछि लालपुर्जा वितरणको तयारी भइरहेको अध्यक्ष खत्वेको भनाई छ ।

अहिलेको आयोगले विगतका कामलाई नै निरन्तरता दिन थालेपछि भूमिहीनहरू जग्गाको लालपुर्जा पाइने आशमा रहेका छन् । 

राष्ट्रिय भूमि आयोग २०७८ गठन भएपश्चात् पहिलो चरणमा सुनसरीका बराहक्षेत्र र धरान सहितका पालिकामा काम सुरु गरिएको छ । 

भूमिहीनलाई जग्गाको स्वामित्व दिने सम्बन्धी वडा र कार्यपालिकाबाट निर्णय गरेर जिल्ला समितिमा पठाउन भनिएको थियो । सोहीअनुसार फाइल समितिमा पेस भइसकेको र पहिलेका अधुरा रहेका काम सक्ने गरी समितिले काम थालेको उहाँको भनाई छ । 

समितिका अध्यक्ष, सदस्य सचिव, पदेन सदस्यहरू, जिल्ला समन्वय समिति, प्रशासन, मालपोत र वनका प्रतिनिधिको टोलीले यसअघिको आयोगले गरेका कामको अनुगमन समेत गरिसकेको छ । 

अध्यक्ष खत्वेका अनुसार विगतमा भएका कामलाई निरन्तरता दिइएकाले यस पटक धेरै परिवारले लालपुर्जा पाउने आधार बलियो देखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button