१८ सय मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

सोलुखुम्बु । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले सञ्चालनको २० वर्षको अवधिमा १ हजार ७८२ मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको जनाएको छ ।
सन् २००३ मा स्थापना भएको आँखा केन्द्रले जिल्लाभर १४० वटा छनौट शिविरबाट ४० हजार ५४० जनाको आँखा परीक्षण गरेको छ । नेपाल आँखा कार्यक्रम, तिलगंंगा आँखा प्रतिष्ठान अन्तरगत सोलुखुम्बुमा सन् २००२ बाट आँखाको उपचार शिविर शुरु गरिएको थियो ।
हिमालयन मोतीबिन्दु परियोजनाको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको साझेदारीमा सञ्चालित छनौट शिविरबाट पहिचान भएका मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्दै आइएको छ । हाल शल्यक्रियासहितको आफ्नै भवनबाट सेवारत आँखा केन्द्रले ६३१ जना शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहलाई तालिम समेत प्रदान गरेको छ ।
जिल्लामा पाँच स्थानमा ग्रामीण आँखा केन्द्र र स्याटलाइट आँखा केन्द्र स्थापना गरेको तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ अनुगमन, मूल्याङ्कन तथा परियोजना विकास अधिकृत पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो । आँखा केन्द्रबाट हालसम्म ६६ हजार ८६७ जनाको आँखा उपचार गरिएको छ । त्यसमध्ये ५९ हजार ७६७ जना नयाँ र सात हजार एक सय जना नियमित फलोअपका बिरामी छन् ।
जिल्ला सामुदायिक आँखा केन्द्रले स्थापनाकालदेखि हालसम्म आँखा सम्बन्धी सुरक्षात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक सेवा प्रवाह गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्