रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता
रोल्पा । रोल्पामा एक हजार ९५३ नयाँ मतदाता थपिएका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले सुरुआत गरेको मतदाता नामावली सङ्कलनको क्रममा जिल्लामा ती नयाँ मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगले गत असार १ गते देखि तीन स्थानबाट मतदाता नामावली सङ्कलन सुरु गरेको थियो ।
जिल्लाको पश्चिमी र उत्तरी भेगका मतदाताका लागि इलाका प्रशासन कार्यालय घर्ती गाउँ, लिवाङस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली सङ्कलनको काम भएको थियो निर्वाचन कार्यालय रोल्पाका सूचना अधिकारी लभलाइट वलीले बताउनुभयो ।
उहाँले भन्नुभयो “मतदाता नामावलीमा दोहोरोपना नहोस् भनेर काम गरिरहेका छौँ।”
जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख ५२ हजार २३ मतदाता रहेको थियो । सो कार्यालयका अनुसार नयाँ मतदाता थपिनु अघि ती मतदातामध्ये यस अवधिमा चार हजार १० मतदाताको मृत्यु भइसकेको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्