बैजुको मन लोभ्याउने कलाकृति

पाल्पा । पाल्पा धार्मिक तथा पर्यटकीय स्थल हो । जिल्लामा कयौँ पुरातात्त्विक तथा ऐतिहासिक स्थल समेत रहेका छन् ।
यहाँस्थित तानसेन नगरपालिका–३ भगवती टोलका भूगोलप्रसाद वैजु श्रेष्ठ पछिल्लो समय सम्पदा कलाकृतिबाट चर्चामा आउनुभएको छ ।
वैजु यतिबेला पाल्पाका पर्यटकीय सम्पदा सिँगार्नमै व्यस्त हुनुहुन्छ । वैजुको आफ्नो घरमा किराना पसल छ । पसलमा ग्राहक नआउँदा उहाँ सामाजिक काममा बाहेक फुर्सदको समय यहाँका पर्यटकीय सम्पदाहरूको नमूना बनाउनमै तल्लीन हुनुहुन्छ ।
बैजुले फालिएका सरसमान तथा बास, थर्माेकोलबाट पाल्पाका पर्यटकीय सम्पदाहरू सानो–सानो नमूना हेण्डिक्राप्ट बनाउने काममा व्यस्त रहनुभएको छ ।
उहाँले पाल्पाको ऐतिहासिक, पर्यटकीय तथा पुरातात्त्विक महत्त्वको राणा खड्ग शमशरेरले निर्माण गरेका रानी महल दरबार,राणा प्रताप शमशेरले निर्माण गरेको पाल्पा दरबार तानसेनको मुटुमा रहेका शितलपाटी, दरबार प्रवेश गर्ने मूल ढोको तस्वीर उस्तै उतारेर बैजुले चर्चामा आउनुभएको छ । बैजुको कलाकारिता र मिहेनत हेर्न सर्वसाधारणदेखि पर्यटकसम्म उहाँको पसलमा पुग्ने गर्छन् ।
वैजुले पाल्पाको चर्चित भैरव मन्दिर रिडिको ऋषि केशव मन्दिर, ताहूँको रम्भापानी मन्दिर, तानसेनको भगवती मन्दिर, अमरनारायण मन्दिर, माथागढी, जितगढी बनाउने तयारीमा जुट्नु भएको छ ।
उहाँले बनाएका पाल्पाका पर्यटकीय सम्पदा रानी महल, पाल्पा दरबार, शितलपाटी र मूलढोका पसलमै सजाएर राखिएको छ ।
उहाँले बनाएका सरसमान बिक्रीका लागि भने राखिएका होइन । उहाँले सङ्ग्रहालय, विभिन्न प्रदर्शनी स्थल, कुनै सभा समारोहमा पाल्पाका पर्यटकीय सम्पदाहरू प्रचार–प्रसारको लागि राख्ने गरेको उहाँ बताउनुहुन्छ ।
वैजुले बनाएको पाल्पाको निशान मन्दिर पाल्पा दरबार सङ्ग्रहालयमा राखिएको छ । पाल्पामा धेरै पर्यटकीय सम्पदाहरू छन्, तीनको प्रचार–प्रसार कलाकारिताको माध्यमबाट बढी प्रभावकारी हुने वैजु बताउनुहुन्छ ।
“यस्ता पर्यटकीय सम्पदाहरू बास, काठबाट बनाउँदा निकै मेहनत पर्ने गरेको छ, सोही अनुसारको डिजाइन गर्नुपर्यो, रङहरू छनौट गर्नुपर्यो, साइज मिलाउन पर्यो, यी सरसमान बनाउँदा मेरो लाखौँ रुपैयाँ खर्च भएको छ तर पनि खर्चको प्रवाह नगरी पाल्पाको पहिचान दिलाउन, पर्यटकीय सम्पदाको प्रचार–प्रसार गर्न यो अभियानालाई निरन्तरता दिन लागि परेको छ”, उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्