‘उद्योगमैत्री वातावरण नै मधेश प्रदेशको समृद्धिको मुल आधार’
वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै मधेश प्रदेशको समृद्धिको मुल आधार रहेको बताउनुभएको छ ।

मधेश प्रदेश सरकारले बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलनमा मुख्यमन्त्री राउतले उद्योगमैत्री वातावरण विना प्रदेश अथवा देश समृद्धिको परिकल्पना समेत गर्न नसकिने बताउनुभयो ।
प्रदेश सरकारले उद्योगहरूको लागी विशेष प्याकेजको कार्यक्रम ल्याए पनि संघीय कानूनको अभावमा कार्यान्वयन गर्न समस्या भइरहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले जग्गाको स्वामित्व हस्तान्तरण लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न संघीय सरकारसँग माग समेत गर्नुभयो ।

सम्मेलनमा प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सम्मेलनबाट आउने निष्कर्षले प्रदेश सरकारलाई दिशा निर्देश गर्ने उल्लेख गर्नुभयो ।
सम्मेलनमा उद्योग, पर्यटन तथा बनमन्त्री सत्रुधन महतोले औद्योगिक सम्मेलनले प्रदेशमा उद्योग स्थापनाको वातावरण निर्माण गर्नुका साथै वर्तमान आवश्यकता र कानूनी जटिलता जस्ता समस्याको समाधानको बाटो पहिल्याउन महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनको उद्घाटन सत्रमा नेपालका लागी बेलायती राजदूत निकोला पोलिट, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिश मोर, उपाध्यक्ष राजेश अग्रवाल, मधेश प्रदेश संयोजक नरेश दास लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सम्मेलनमा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा, प्रदेश सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउत लगायत प्रदेशस्थित करिब एक सय जना उद्योगीहरूको सहभागिता छ ।
नेपाल उद्योग परिसंघ, स्वदेशी सीप परियोजना र युके एडको सहयोगमा मधेश सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा प्रदेश सरकारले आर्थिक विकासमा योगदान दिने २३ उद्योगहरूलाई यसअघि सम्मान तथा पुरस्कृत समेत गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्