तपाईँ सुन्दै हुनुहुन्छः

हुलाक कार्यालय तनहुँद्वारा करिब १९ लाख राजश्व सङ्कलन

तनहुँ । जिल्ला हुलाक कार्यालय तनहुँले आर्थिक २०७८÷७९ को एक वर्षको अवधिमा १८ लाख ९९ हजार ३२० रुपैयाँको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि असार मसान्तसम्मका अवधिमा कार्यालयले २ लाख २ हजार ५५० थान टिकट बेच्दा उक्त राजश्व सङ्कलन गरेको हो ।

कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराईका अनुसार साउन महिनामा २५ हजार ८२० थान टिकट बेच्दा १ लाख ५८ हजार ४५० रुपैयाँ राजश्व सङ्कलन गरेको थियो।

यस्तै, भदौमा २४ हजार ४२० थान टिकट बेच्दा १ लाख ५३ हजार २८० रुपैयाँ, असोजमा २७ हजार १२० थान टिकट बेच्दा १ लाख ७८ हजार ३२० रुपैयाँ र कार्तिक महिनामा १५ हजार ४४० थान टिकट बेच्दा १ लाख ७० हजार ८ सय रुपैयाँ राजश्व सङ्कलन भएको हुलाक अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

यस्तै मंसिरमा १४ हजार ५२० थान टिकट बेच्दा १ लाख ६१ हजार ८८० रुपैयाँ, पुसमा ८ हजार ४२० थान टिकट बेच्दा ९३ हजार १२० रुपैयाँ, माघमा २१ हजार थान टिकट बेच्दा २ लाख २९ हजार ४४० रुपैयाँ, फागुनमा १५ हजार २५० थान टिकट बेच्दा १ लाख ७२ हजार ३६० रुपैयाँ, चैतमा १५ हजार ७५० थान टिकट बेच्दा १ लाख ८२ हजार ३०० रुपैयाँ, वैशाखमा १० हजार ६० थान टिकट बेच्दा १ लाख १७ हजार २०० रुपैयाँ, जेठमा १० हजार ११० थान टिकट बेच्दा १ लाख १५ हजार ४०० रुपैयाँ, असारमा १४ हजार ६४० थान टिकट बेच्दा १ लाख ६६ हजार ७७० रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयले अभिलेख राखेर सङ्घ संस्था र व्यक्तिलाई कार्यालयबाट नै टिकट बिक्री गर्न थालेको उहाँले बताउनुभयो । हुलाक टिकट राजस्व सङ्केत भएकोले निर्धारण गरिएको मूल्य भन्दा घटिबढीमा बिक्री गर्न मिल्दैन । उहाँले भन्नुभयो, ’हुलाक टिकटमा तोकिएको मूल्य भन्दा बढी मूल्यमा बिक्री गर्न थालिएको पाइएकोले कार्यालयबाट व्यवस्थित तरिकाले टिकट बिक्री गर्न थालेको हो।’

विभिन्न सङ्घ संस्था, बीमा कम्पनी, लेखापढी कानुन व्यवसायी, बैङ्क लगायतका कार्यालयले कार्यालयमै आएर टिकट लैजाने गरेको उहाँले बताउनुभयो । केवल, टिभी, पत्रपत्रिका, एफएम लगायतका सञ्चारमाध्यमको दर्ता तथा नवीकरणको कार्य गर्दै आएको सो कार्यालयले पछिल्लो समय डाँक सेवालाई व्यवस्थित गर्न लागेको हुलाक अधिकृत भट्टराइले जानकारी दिए। सूचना र प्रविधि, स्रोतसाधन र जनचाहनाअनुरूप सेवा दिन स्रोतसाधन कमी भएका कारण ढिलाइ हुन गएकोले सेवामा छिटोछरितो ल्याउन पहल गरिएको बताउनुभयो ।

१७ जिल्लाको लागि प्रदेश हुलाक कार्यालयले व्यवसायीसँग डाँकको लागि सम्झौता गरे पनि सम्झौता अनुरूपको कार्य नहुँदा सेवा प्रदानमा कठिनाइ भएको सो कार्यालयले जनाएको छ ।

पछिल्लो समय हप्तादेखि पन्ध्र दिनको अवधिमा आफ्नै डाँक सेवाबाट हुलाक कार्यालयमा पुगेर डाँक उठाउन थालिएको हुलाक अधिकृत भट्टराइले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button