तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र र इ पासपोर्टको अनलाइन फारम भर्ने व्यवस्था

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र र ई पासपोर्टको अनलाइन फारम भर्ने सेवाग्राही भिड थामिनसक्नु भएपछि आजबाट लागु हुने गरी पर्साका १४ वटै स्थानीय तहबाट अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र र ई पासपोर्ट बनाउनेको चाप नघटेपछि पर्साका १४ वटै स्थानीय तहबाट फारम भर्ने व्यवस्था मिलाइएको कुरा उल्लेख गरिएको छ ।

सेवाग्राहीको काम छिटो, छरितो र व्यवस्थित गराउन आजबाट पर्साका सबै स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको फारम भर्ने व्यवस्था मिलाइएको पौडेलले बताउनुभयो । स्थानीय तहमा अनलाइन फारम भर्नका लागि व्यक्ति समेत तोकेर कार्यालयले सूचना सार्वजनिक गरेको छ ।

जसअनुसार वीरगञ्ज महानगरपालिकामा २ जनालाई फारम भर्ने कामको जिम्मा लगाइएको छ भने अन्य स्थानीय तहमा एक जना कर्मचारी तोकिएको छ । महानगरको जनसङ्ख्या धेरै रहेकाले फारम भर्ने जिम्मेवारी २ जनालाई दिइएको पनि सहायक प्रमुख जिल्ला अधिकारी पौडेल बताउनुभयो ।

अब भने हरेक पालिकाका नागरिकले आफ्नै पालिकामा राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको फारम भरेर बायोमेट्रिकका लागि मात्रै जिल्ला प्रशासन कार्यालय आए हुने भएको छ ।

आजबाट फारम भर्नका लागि जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button