तपाईँ सुन्दै हुनुहुन्छः

अनुदानका लागि सुरु गरिएका कृषि फर्म अलपत्र

पर्वत । पर्वतमा सरकारी अनुदान लिनका लागि खोलिएका कृषि तथा पशु फर्म धमाधम बन्द हुन थालेका छन् । 

केही वर्षअघि व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)बाट डेढ करोड रुपियाँ अनुदान पाएको पर्वतको महाशिला गाउँपालिकाको नमुना बाख्रा फर्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो । महाशिला १ होश्राङ्दीमा बाख्राको स्रोत केन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको बाख्रा फर्म एक वर्षपछि अलपत्र परेको हो ।

२०७४ सालमा आयोजनाबाट अनुदान पाएको फर्ममा अहिले झार र सिस्नो भरिएको छ ।  भवन खण्डहर बनेको छ । स्थानीयवासीका अनुसार अनुदानका लागि फर्मका भवन बाहेक केही छैन । दुई सय रोपनी क्षेत्रफलमा बाख्रा पालनका लागि बनेका ६ वटा खोरमा अहिले बाख्रा छैनन् ।

पहुँचको भरमा ल्याएको अनुदानको दुरुपयोग भएको स्थानीयवासी भीमप्रसाद काफ्लेले बताउनुभयो । दुई छाक खानका लागि जोहो गर्न खाडी जानुपर्ने बाध्यता रहेको गाउँपालिमा करोडौँ रुपियाँका फर्म अलपत्र पारिएको काफ्लेले बताउनुभयो । उहाँका अनुसार बाख्रा पालनका लागि भनेर संरचना बनाएको भए पनि बाख्रा देख्न पाइएन ।

अनुदान ल्याउन मात्रै बाख्रा देखाइएको तर हाल बाख्रा नै नरहेको स्थानीयवासी बताउँछन् । केही समय करिब ५० वटा बाख्रा राखिएको भए पनि अहिले ती बाख्रा बेचेर भवन मात्रै रहेको स्थानीय कला भट्टराईले बताउनुभयो ।

स्थानीय २९ जनाको शेयर र प्याक्टको अनुदानमा सुरु गरिएको सो परियोजना अलपत्र परे पनि कुनै निकायले अनुगमन नगरेको स्थानीयको भनाइ छ । 

स्थानीयवासी २९ जनाको संलग्नतामा होश्राङ्दी, उराम, भोक्सिङका कृषकहरूले साझेदारीमा सञ्चालन गरेको भएपनि आर्थिक सङ्कटका कारण फर्म बन्द भएको महाशिला गाउँपालिकाका अध्यक्ष तथा फर्मका मुख्य सञ्चालक ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।

अनुदानसहित रु.३ करोड रुपियाँको लागत अनुमान गरिएकोमा परियोजनाबाट प्राप्त अनुदानबाहेक व्यक्तिले लगानी नगरेपछि सरकारी अनुदानको सदुपयोग नभएको उहाँले बताउनुभयो । 

फर्ममा ५ सय माउ बाख्रा पाल्ने गरी बनाइएका घाँस सङ्कलन गर्नेदेखि पानी खुवाउने सम्मका संरचना बनिसकेका छन् । अनुदान उपलब्ध गराउने समयमा भने फर्ममा बाख्रा रहेको भेटनरी अस्पताल एवम् पशु विज्ञ केन्द्र पर्वतले बताएको छ । केन्द्रका प्रमुख रामजी पौडेलले अनुदान उपलब्ध गराउँदा फर्ममा बाख्रा रहेको तर अहिले भने अनुगमन नभएको स्विकार्नुभयो । 

यस्तै, जिल्लाको कुश्मा नगरपालिका २ को अर्मादीमा सञ्चालनमा आएको कुखुराको मासु प्रशोधन केन्द्र अहिले शेयरमा विक्री भइसकेको छ । कृषक लालबहादुर हरिजनले सञ्चालन गरेको उक्त फर्म अनुदान आफूले लिएर अन्य व्यक्तिलाई शेयर विक्री गरेको पाइएको छ । उहाँको नमुना व्यावसायिक कृषि फर्म अम्बोटमा समेत अनुदान आएपछि विक्री गरिएको बताइएको छ ।

योसँगै ठुला अनुदान पाएका जिल्लाका अन्य ठाउँका फर्महरू पनि बन्द भएका छन् । केही अनुदान पाएपछि विक्री भएका छन् । उत्पादनभन्दा अनुदानमुखी कार्यक्रमहरूले जिल्लाको बेरोजगारी कम गराउनुको सट्टा राज्यले करोडौँ लगानी गरेका फर्महरू अहिले खण्डहरमा परिणत हुँदै आएको कृषकहरूको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button