उपत्यकाको पर्यावरण संरक्षण गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाको पर्यावरण संरक्षण गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।
काठमाडौँको गुह्येश्वरीमा निर्मित फोहरपानी प्रशोधन केन्द्रको आज समारोहका बीच उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पर्यावरण संरक्षण गरी उपत्यकावासीको स्वच्छ वातावरणमा बाच्न पाउने हक सुनिश्चित गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले बढ्दो जनसङ्ख्या र अव्यवस्थित बसोबासका कारण प्रदूषित बन्दै गएका उपत्यकाका प्रमुख नदीहरूको संरक्षणका लागि सरकारले विभिन्न स्थानमा पानी प्रशोधन प्रणालीहरू निर्माण गरिरहेको बताउनुहुँदै ती प्रणालीहरूको निर्माण सम्पन्न भएपनि बाग्मती लगायतका नदीहरूमा कम्तीमा नुहाउन सकिने स्वच्छ पानी बग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले उपत्यकाका नदीहरूको संरक्षण गरी सफा पानी बग्ने बनाउन सके विश्वभरका हिन्दुहरूको आकर्षण बढ्ने र धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले प्रशोधन केन्द्र सञ्चालनमा आएपछि पशुपतिनाथ मन्दिर भन्दा माथिका वस्तिबाट विसर्जन हुने सम्पूर्ण ढल तथा फोहरपानी प्रशोधन भएर मात्रै वाग्मतीमा जाने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले सातै प्रदेशका राजधानी शहर सहित देश भरका प्रमुख शहरी क्षेत्र भएर बग्ने नदीहरूको अध्ययन गरी सबै ठाउँमा फोहरपानी प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।

दैनिक ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गर्ने क्षमताको प्रशोधन केन्द्रमा गोकर्णेश्वर देखी गुह्येश्वरी सम्मको ढल प्रणाली जोडिएको छ ।
प्रशोधन केन्द्रमा फोहर पानीमा रहेका जैविक ठोस पदार्थबाट वायोग्यास उत्पादन गर्ने तथा सोही वायोग्यासबाट विद्युत् उत्पादन गरी प्रशोधन केन्द्रका लागि आवश्यक झण्डै ५० प्रतिशत विद्युत् आपूर्ति हुनेछ ।
यस्तै प्रशोधन केन्द्रबाट दैनिक करिब ८ टन हानिरहित स्लज वा खेतबारीमा प्रयोग गर्न सकिने मल समेत निस्कने खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्