चुरे संरक्षणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन
जनकपुरधाम । तराई मधेशका जिल्लाहरूमा भइरहेको चुरे दोहनको विरोध तथा चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा चुरे संरक्षण अभियन्ताहरूले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय क्षेत्रको सडकमा नै सुतेर विरोध प्रदर्शन गरेका छन् ।
चुरे वनजङ्गल संरक्षण राष्ट्रिय अभियानको आयोजनामा सयौँ महिला तथा पुरुषहरूले सडकमै सुतेर चुरे संरक्षणका साथै वास्तविक सुकुम्बासी समस्या समाधानका लागि माग गरेका छन् । चुरे संरक्षण अभियानका राष्ट्रिय अध्यक्ष सुनिल कुमार यादवको नेतृत्वमा सयौँ व्यक्तिहरूले एक घण्टा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय क्षेत्रको मूल सडकमा सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

सहभागीहरूले चुरे दोहन गर्न पाइँदैन, चुरेमा सुकुम्बासीको नाउँमा जग्गा वितरण गर्न पाइन्न, प्रदेश सरकारसँग भएको पाँच बुँदाको सहमति तत्काल लागु गर, वास्तविक सुकुम्बासीको समस्या समाधान गर जस्ता नारा लगाउँदै तराई मधेशका दलित तथा सुकुम्बासीहरुले विरोध प्रदर्शन गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र गरेका कारणले अभियानीहरुले निषेधित क्षेत्रभन्दा केही मिटरको दूरीमा प्रदर्शन गरेका थिए ।

चुरे वनजङ्गल संरक्षण राष्ट्रिय अभियानका संयोजक सुनिल यादवले चुरेको विनाश जारी रहेको, सुकुम्बासीको नाउँमा गैर सुकुम्बासीलाई जग्गा वितरण गर्न दिइएको, सिरहाको गोल बजारमा रहेको मारुती सिमेन्टले कब्जा गरेको ३ विघा ३ कट्ठा जग्गा चुरे तथा बुट्यान क्षेत्रको भएकाले फिर्ता हुनुपर्ने, प्रदेश सरकारसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने तथा चुरे संरक्षणको नाउँमा हुने गरेको आर्थिक अनियमितताको छानविन हुनुपर्ने मागसहित आफूहरूले पटक पटक आन्दोलन गर्दै आएको बताउनुभयो ।
जनकपुरधामको जनक चौकमा विगत १२ दिनदेखि अनिश्चित कालिन रिले अनशन जारी छ । अनसनमा सयौँ व्यक्तिहरू सहभागी हुने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्