तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा एक वर्षमा १ हजार ५८४ उद्योग दर्ता, महिला उद्यमी बढी 

चितवन । चितवनमा एक वर्षको अवधिमा करिब एक हजार पाँच सय ८४ उद्योग थपिएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारी अनुसार गत आर्थिक बर्ष ०७८/०७९ मा सबै प्रकारका उद्योग गरी एक हजार पाँच सय ८४ वटा नयाँ उद्योग दर्ता भएका हुन् । 

यस कार्यालयमा उत्पादनमूलक उद्योग, कृषि तथा वनजन्य उद्योग,ऊर्जामूलक उद्योग, खनिज जन्य उद्योग, निर्माणमूलक उद्योग, पर्यटनमूलक, सेवामूलक र विज्ञान तथा सूचना प्रविधि मूलक शीर्षकमा उद्योग दर्ता हुने गर्दछन् । 

गत बर्ष उत्पादन मूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक शीर्षकमा मात्र नयाँ उद्योगहरू दर्ता भएका छन् । 

कार्यालयका अनुसार एक वर्षको अवधिमा उत्पादनमूलक उद्योग २ सय ३१ वटा, कृषि तथा वनजन्य उद्योग १ हजार ३७, उत्पादनमूलक उद्योग २ सय ३१, पर्यटन मूलक उद्योग १७ र सेवा मूलक उद्योग २९९ वटा दर्ता भएका छन् भने अन्य शीर्षकमा भने कुनै पनि उद्योग दर्ता भएका छैनन् । 

कार्यालयका प्रमुख यादवनाथ आचार्यले कोरोना कम भएसँगै गत बर्ष उद्योग दर्ता गर्नेको सङ्ख्या घटेको  बताउनुभयो  । 

“अहिले कोरोनाको समयमा भन्दा पनि उद्योग दर्ता भएनन्” उहाँले भन्नुभयो, “थप उद्योग दर्ता नहुनु यो बर्ष आर्थिक मन्दी र तरलता अभाव मुख्य कारण हो ।” 

कोरोनाकै कारण थप लगानीको वातावरण नभएकोले अन्य शीर्षकहरूमा उद्योग दर्ता  भएका छैनन् । अन्य प्रकृतिका उद्योगहरूमा लगानी पनि बढी चाहिने र प्रक्रियागत झन्झट भएका कारण पनि उद्योग दर्ता भएपनि ज्यादै न्यून मात्रामा दर्ता हुने गरेको उहाँको भनाई छ । 

उद्योग दर्तामा महिला बढी 
गत आवमा दर्ता भएका उद्योगहरूमा पुरुषभन्दा महिला उद्यमीले बढी उद्योग दर्ता भएका छन् । 

कार्यालयका अनुसार सो अवधिमा  महिला उद्यमी १ हजार ८३ रहेका छन् भने पुरुष उद्यमी ७ सय २२ जना रहेका छन् । 

जसअनुसार उत्पादनमूलक उद्योगमा पुरुष उद्यमी २०४ रहेका छन् भने महिला उद्यमी १ सय४३ जना रहेका छन् । 

यस्तै, कृषि तथा वनजन्य उद्योगमा महिला उद्यमी ७ सय २४ जना, पुरुष उद्यमी ३ सय ९४ जना, सेवामूलक उद्योगमा महिला उद्यमी २ सय ८ , पुरुष उद्यमी १ सय १३ रहेका छन् । र पर्यटन मूलक उद्योगमा महिला उद्यमी ८ जना र पुरुष उद्यमी ११ जना रहेका छन् । 

प्रमुख आचार्यले पछिल्लो समय कृषि तथा अन्य उद्योगहरूमा विभिन्न क्षेत्रमा सहुलियत पाएसँगै  महिला उद्यमीको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो  । 

“महिलाले उद्योग दर्ता गर्दा अहिले ५० प्रतिशत छुट पाउंँछन ”, उहाँले भन्नुभयो , “महिलाको नाममा उद्योग दर्ता गर्दा बैङ्क वित्तीय संस्थामा सहुलियत र अनुदान लिन पनि सहज छ । ”  

यी सबै उद्योगमा महिला पुरुष गरी ५ हजार १ सय ९१ जनाले रोजगारी पाएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button