तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादमा मात्रै पूर्ण मानवअधिकार: खनाल

काभ्रेपलाञ्चोक । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को जिल्ला भेलामा उहाँले मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताउनुभयो । उहाँले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबी समेत गर्नुभयो ।

नेता खनालले समाजवाद स्थापनापछि मात्रै नेपालीले सुख, शान्ति र समृद्धि प्राप्त गर्ने उल्लेख गर्दै समाजवादी क्रान्तिको रूपान्तरणको चरणपछि नयाँ युग नै समाजवाद भएको बताउनुभयो ।

यथास्थितिवादी र पुँजीपति वर्गले नागरिकलाई अझै शोषण र दमन गरिरहेकाले नेपालको मानवअधिकार खुम्चन पुगेको नेता खनालको तर्क थियो । उहाँले भन्नुभयो, “तिनै यथास्थितिवादी, शोषण र दमनको अन्त्य गर्न समाजवादको आवश्यकता परेको हो ।”

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटाले लोकतन्त्रका लाभहरू सबै समुदाय र वर्गले समान रूपमा पाउनुपर्ने बताउँदै सबै दलले वर्गीय र लैङ्गिक असमानताको विरुद्धमा लाग्ने प्रतिबद्धताको आवश्यकता औँल्याउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य टोक बहादुर वाइबाले एकीकृत समाजवादी पार्टी स्थापित गर्न सङ्गठन विस्तार अभियानमा लागिएको बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button