‘सिमरा ‘सेज’ले पूर्णता पाउन नसक्नुमा कार्यनीति बाधक’
बारा । बारास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’को कार्यले पूर्णता पाउन नसक्नुमा आयोजना निर्माणको कार्यनीति बाधक भएको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।

सेजको ए ब्लक बाहेक डी र ई ब्लकको करिब ५ सय बिगाहा जग्गा अतिक्रमणमा परेको छ । विभिन्न जिल्लाबाट आएका बाढी प्रभावित, सुकुम्बासी र केही भू माफियाले प्रतिपरिवार १० कठ्ठा देखि ५ बिगाहासम्म जमिन भोगचलन गर्दै आएका छन् ।
ब्लक सि र डी मा पनि अतिक्रमणको समस्या रहेको छ । विगतका रैथाने थारु समुदायलाई हटाएर वीरगञ्ज चिनी कारखानाले लिएको जग्गा अहिले सेज निर्माणमा प्रयोग गर्ने भनिए पनि व्यक्तिले ओगट्ने वातावरण तयार हुनुले त्यहाँका थारु समुदाय रुष्ट बनेका छन् ।
थारुहरूको मुख मोसेर अन्यत्रबाट आएकाहरूलाई पोस्ने अवस्था रहेमा स्थानीय थारु समुदाय सेजविरुद्ध आन्दोलित हुने चेतावनी स्थानीय कृष्णदेव चौधरीले दिनुभयो ।

स्थानीय सरोकारवाला बीचको अन्तरक्रियामा स्थानीय सरोकारवालाले निर्माण सम्पन्न भइसकेको सिमरा सेजको ए ब्लकमा उद्योग सञ्चालन तथा बाँकी ब्लकहरूमा भौतिक पूर्वाधार निर्माणको काममा सरकार गम्भीर नबनेको आरोप लगाएका हुन् । सेज सञ्चालनमा अत्यावश्यक कार्य सम्पन्न गर्नेतर्फ समयमा ध्यान नपुर्याउँदा चुनौतीको चाँङ्ग लागेको उनीहरूको भनाइ छ ।
सेजको जग्गा अतिक्रमणको क्रम बढ्नु, मुख्य सडकबाट सेजसम्म पुग्ने बाटो निश्चित नहुनु, आवश्यक क्षमताको बिजुली आपूर्तिका लागि सवस्टेशन नबन्नु जस्ता कार्यले सेज कार्यान्वयनमा आशङ्का बढेको स्थानीयले बताएका छन् ।
जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले मुख्य सडकसँग र सेज जोड्ने सडकको निर्क्योल नहुनु र भएको बाटोको पनि मर्मत सम्भार नहुनुले सेजप्रति उद्योगीको आकर्षण घटेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्